काठमाडौँ । मानिसको जीवनमा खुशी केवल धन–सम्पत्तिले मात्र आउँदैन। शान्त वातावरण, सकारात्मक सोच र सन्तुलित पारिवारिक सम्बन्धले पनि उत्तिकै भूमिका खेल्छन्। प्राचीन भारतीय वास्तु शास्त्रले घरको बनावट र वातावरणले मानिसको मानसिक अवस्था र दैनिकीमा प्रत्यक्ष प्रभाव पार्ने बताउँछ। पछिल्ला वर्षहरूमा नेपालका शहरी क्षेत्रमा पनि यसप्रति चासो बढ्दो छ।
१. घरको मूलढोका र सकारात्मक ऊर्जाः वास्तु शास्त्रका अनुसार घरको मुख्य ढोका सकारात्मक ऊर्जाको प्रवेशद्वार मानिन्छ। सफा, उज्यालो र व्यवस्थित प्रवेशद्वारले घरभित्र उत्साह र आशा ल्याउने विश्वास छ। ललितपुरकी गृहिणी सविना श्रेष्ठ भन्छिन्, “हामीले घरको ढोका सधैं सफा राख्न थाल्यौं, सानो दीप र फूलले सजाउन थाल्यौं। त्यसपछि घरमा अनावश्यक तनाव कम भएको अनुभव गर्यौं।” विशेषज्ञहरू भन्छन्–ढोकामा अव्यवस्था, फोहोर वा बिग्रिएको संरचनाले नकारात्मक मनोविज्ञान सिर्जना गर्न सक्छ।
२. उज्यालो र हावापानीस् मानसिक शान्तिको आधारः प्राकृतिक प्रकाश र स्वच्छ हावा स्वास्थ्य र खुशीका महत्वपूर्ण कारक हुन्। वास्तु अनुसार पूर्व वा उत्तर दिशाबाट आउने प्रकाश शुभ मानिन्छ। मनोविद्हरू पनि भन्छन्–अँध्यारो कोठाले उदासी बढाउन सक्छ भने खुला झ्याल र घामले सकारात्मकता बढाउँछ। यसरी हेर्दा वास्तु र आधुनिक मनोविज्ञानबीच समानता देखिन्छ।
३. भान्सा र पारिवारिक सम्बन्धः भान्सा केवल खाना पकाउने ठाउँ मात्र होइन, परिवार जोड्ने केन्द्र हो। दक्षिण–पूर्व दिशामा भान्सा हुनु उपयुक्त मानिन्छ।
भक्तपुरका शिक्षक रमेश तामाङ भन्छन्, “भान्सालाई व्यवस्थित बनाएपछि घरमा झगडा कम भएको महसुस भयो। सबैजना सँगै बसेर खाना खान थालेपछि सम्बन्ध पनि सुधारियो।” यसले देखाउँछ–सफा र मिलेको वातावरणले पारिवारिक संवादमा सकारात्मक प्रभाव पार्छ।
४. पूजा स्थान र मानसिक स्थिरताः घरभित्रको पूजा कोठा वा सानो ध्यानस्थलले मानसिक शान्ति दिन्छ। नियमित प्रार्थना वा ध्यानले तनाव कम गर्ने वैज्ञानिक आधार पनि छन्। वास्तु अनुसार उत्तर–पूर्व दिशा आध्यात्मिक उन्नतिका लागि शुभ मानिन्छ।
५. हरियाली र प्रकृतिसँगको नाताः घरमा तुलसी, मनी प्लान्ट जस्ता बिरुवा राख्दा वातावरण शुद्ध हुने र मन प्रसन्न हुने विश्वास छ। वातावरणविद्हरूका अनुसार पनि हरियालीले तनाव घटाउन मद्दत गर्छ। बिरुवा केवल सजावट होइन, जीवनमा ताजापन ल्याउने माध्यम हो।