काठमाडौँ । नेपाली सेनाका ४ जना पूर्व प्रधानसेनापतिहरू भारत गएका छन् । बिहीबार मध्यान्ह ४ जना पूर्व प्रधान सेनापतिहरू भारत गएका हुन् । भारत जानेमा पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्री, पूर्णचन्द्र थापा, प्यारजंग थापा र गौरवशमशेर राणा भारतको नयाँ दिल्ली गएका हुन् । राजेन्द्र क्षेत्री र पूर्णचन्द्र थापा बिहीबार दिउँसो पौने ३ मा नेपाल एयरलाइन्सको उडानबाट नयाँ दिल्ली गएका थिए । प्यारजंग थापा र गौरवशमशेर राणा एयर इन्डियाको विमानबाट बिहान ११ बजे गएका हुन् ।
भारतका नयाँ दिल्लीमा आयोजना हुने पूर्व प्रधानसेनापतिहरुको चिफ्स कन्क्लेभमा सहभागी हुन पूर्व प्रधानसेनापतिहरू भारत गएको नेपाली सेनाले जनाएको छ । गतवर्ष नेपालमा आर्मी डे को अवसरमा चिफ्स कन्क्लेभ आयोजना गरिएको थियो ।
यसवर्ष १० औँ चिफ्स कन्क्लेभमा सहभागी हुन ४ जना पूर्व सेनापतिहरु भारत गएको नेपाली सेनाका प्रवक्ता (सहायकरथी) राजाराम बस्नेतले बताए । भारतीय सेनाले नेपालका सबै पूर्वसैनिक प्रमुखहरूलाई निमन्त्रणा पठाए पनि ४ जना मात्र त्यसतर्फ गएका हुन् ।
फागुन १४ मा सुरु भएको चिफ्स कन्क्लेभ फागुन १७ सम्म चल्नेछ । भारत र नेपालबीच घनिष्ठ सैनिक सम्बन्ध रहँदै आएको छ र दुवै देशले नियमित रूपमा संयुक्त सैन्य अभ्यासहरू सञ्चालन गर्दै आएका छन् । भारतीय प्रधानसेनापति उपेन्द्र द्विवेदी र भारतीय सेनाका अन्य उच्च अधिकारीहरूले आधुनिक युद्धका चुनौती सामना गर्न हालका वर्षहरूमा सेनामा गरिएका प्रमुख रूपान्तरणबारे नेपालाका पूर्व प्रधानसेनापतिहरूलाई जानकारी गराउने छन् ।