काठमाडौँ । नेपाल पुलिस स्कुल साँगाको ४२औँ स्थापना दिवस तथा वार्षिक खेलकुद दिवस मंगलबार भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना कार्कीको प्रमुख आतिथ्यमा आयोजित भएको थियो। उनले विद्यालयको मुखपत्र ‘दीपिका २०८२’ विमोचन गर्नुका साथै विभिन्न प्रतियोगिताका विजेता विद्यार्थी, उत्कृष्ट शिक्षक र प्रहरी कर्मचारीलाई नगद, मेडल तथा प्रशंसापत्र वितरण गरेकी थिइन ।
कार्यक्रममा विद्यार्थीहरूले मार्चपास, जुडो, कराते, तेक्वान्दो, जिम्न्यास्टिक र सांस्कृतिक प्रस्तुति दिएका थिए। अध्यक्ष कार्कीले विद्यालयले ४२ वर्षदेखि गुणस्तरीय शिक्षा र अनुशासनमार्फत सक्षम नागरिक उत्पादन गरेको बताउँदै आगामी सफलताको शुभकामना व्यक्त गरिन्। कार्यक्रममा प्रहरी अधिकारी, अभिभावक र पत्रकारहरूको उपस्थिति रहेको थियो।