काठमाडौं । झापा क्षेत्र नम्बर–५ मा आसन्न निर्वाचनलक्षित सुरक्षा व्यवस्था कडा पारिएको छ ।
यो क्षेत्रमा नेपाल प्रहरीका पाँच डीएसपी परिचालन गरिएको छ । केन्द्रीय सुरक्षा समितिको बैठकबाट यो क्षेत्रमा नयाँ र पुराना दलबीच द्वन्द्व हुन सक्ने चुनौती आकलन गरिएको थियो ।
झापा–५ मा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लगायत उमेदवार छन् । सम्भावित सुरक्षा चुनौती मध्यनजर गरेर पाँच डीएसपी खटाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा–५ अन्तर्गत इलाका प्रहरी कार्यालय दमकमा मात्र डीएसपीको दरबन्दी छ । तर, गृह मन्त्रालयले थप चार डीएसपी पठाएको जनाइएको छ ।
झापा–५ को प्रत्येक पालिकामा एक/एक डीएसपीको ‘कमान्ड’मा प्रहरी परिचालन गरिएको छ । यहाँ पाँच डीएसपी सँगै दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको झापा प्रहरी प्रमुख एवं एसपी वसुन्धरा खड्काले बताइन् ।