बैतडी । बैतडीमा थप एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका– ६ घर भएका ३८ बर्षीय राजेन्द्र प्रसाद भट्टको मृत्यु भएको हो ।निर्वाचन प्रहरीको तालिमपछि भट्टलाई इलाका प्रहरी कार्यालय मेलौली मातहत खटाइएको थियो । सोमबार साँझ ड्युटी सकेर घर फर्किएका भट्ट एक्कासी घरमै बेहोस भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
बेहोस भएपछि भट्टलाई उपचारका लागि एम्बुलेन्समार्फत केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र पुर्याइएको थियो । तर स्वास्थ्य केन्द्रमा पु¥याउँदा चिकित्सकले राति १२ बजेर ५ मिनेटमा भट्टलाई मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
यसअघि यहीँ फागुन ८ गते दशरथचन्द नगरपालिका–४ बबेत घर भएका ३८ बर्षीय महादेव ओडको मृत्यु भएको थियोे । ओड पनि घरमै अचेत अवस्थामा फेला परेका थिए । यस्तै गएको माघ २० गते दशरथचन्द नगरपालिका–४ का ३२ बर्षीय प्रकाश चन्दको तालिम सकेर फर्किने क्रममा भिरबाट लडेर मृत्यु भएको थियो ।