काठमाडौं । नेपाल प्रहरीले मिथ्या सूचना तथा साइबर अपराध नियन्त्रणका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको प्रयोग सुरु गरेको छ ।
प्रहरी प्रधान कार्यालयमा ‘आर्टिफिसियल इन्टेलिजेन्स एन्ड एड्भान्स एनालिटिकल सेल (एआई सेल)’ स्थापना गर्दै डिजिटल निगरानी र विश्लेषणलाई संस्थागत रूपमा अघि बढाइएको हो ।
सोमबार आयोजित कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले उक्त सेलको औपचारिक उद्घाटन गरेका हुन्।
कार्यक्रममा प्रहरी अधिकारीहरूले पछिल्लो समय तीव्र रूपमा बढिरहेको साइबर अपराध, गलत तथा मिथ्या सूचना, संगठित आपराधिक सञ्जाल, वित्तीय अपराध र सामाजिक अस्थिरता सिर्जना गर्ने डिजिटल अभियानले राष्ट्रिय सुरक्षामा चुनौती थपेको बताएका थिए।
प्रहरी प्रवक्ता अबिनारायण काफ्लेका अनुसार एआई सेलको स्थापना एआईको संस्थागत अवलम्बन र सुदृढीकरण, प्रोएक्टिभ इन्टेलिजेन्स विकास, अर्ली वार्निङ प्रणाली सञ्चालन, डिजिटल अपराध इन्टेलिजेन्स मजबुत बनाउने तथा एआई प्रविधिको दुरुपयोग पहिचान (डिटेक्सन) गर्ने उद्देश्यले गरिएको हो।
काफ्लेका अनुसार एआई सेलको प्रयोगबाट हालसम्म गलत तथा मिथ्या सूचना सम्प्रेषणसँग सम्बन्धित पाँचवटा घटनामा संलग्न व्यक्तिहरूलाई बाँके, कञ्चनपुर, सुनसरी, सल्याण र दाङबाट पक्राउ गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।