काठमाडौं । महाशिवरात्रीमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न जाने भक्तजनहरूको सुरक्षा, सुविधा र भीड व्यवस्थापनलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले १३ बुँदे विशेष अनुरोध सार्वजनिक गरेको छ।
शनिबार जारी गरिएको सूचनामा शिवरात्रिका दिन अत्यधिक भीडभाड हुने तथा सुरक्षा संवेदनशीलता बढ्ने भएकाले दर्शनार्थीलाई निर्धारित नियम पालना गर्न आग्रह गरिएको हो।
प्रहरीले बहुमूल्य गरगहना लगाएर नआउन तथा महँगा सरसामान साथमा नबोक्न विशेष अनुरोध गरेको छ। पशुपति क्षेत्रको वातावरण र निर्धारित मापदण्ड अनुसार प्लास्टिकका झोला, कप, प्लेट आदिको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको छ। दूध वा गंगाजल ल्याउँदा काँचका भाँडाको प्रयोग नगर्न पनि सचेत गराइएको छ।
