सुनसरी । सुनसरीमा पेस्तोलसहित एक भारतिय नागरिक पक्राउ परेका छन् । कोशी गाउँपालिका–३ जमुवाबाट जालीनोट, स्वचालित पेस्तोल र करिब १०० ग्राम ब्राउनसुगरसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । निर्वाचन क्षेत्र सुरक्षाका लागि सीमा क्षेत्रमा खटिएको बिओपी श्रीपुरको सशस्त्र प्रहरीको टोलीले भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको विहार प्रान्तको अररिया जिल्लास्थित बेला ग्राम पंचायत–४ बस्ने ३६ वर्षीय राम खेलन पासवान रहेका छन् ।
निर्वाचन क्षेत्र ४ स्थित सुरक्षा बेशका अनुसार शुक्रबार बेलुका भारतीय सीमाबाट कोशी गाउँपालिको जमुवातिर प्रवेश गरेको बीआर ५० एजे ४२२९ नम्बरका मोटरसाइकल जाँच गर्दा उनलाई नियन्त्रणमा लिइएको हो । उनको साथबाट केही भारतीय नगद र नेपाली नगद, स्वचालित पेस्तोल, पेस्तोलमा लाग्ने गोली र ब्राउनसुगर बरामद भएको हो । नाम नखुलेको लागुऔषध ६ वटा क्याप्सुल र निट्राजिपाम ५ ट्याब्लेट पनि बरामद भएको छ ।