काठमाडौँ । सशस्त्र प्रहरीले सुनसरी र मोरङबाट ३ सय ३ किलो गाँजासहित एक व्यक्तिलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म कप्तानगंजबाट खटिएको टोलीले नेपालबाट अवैध रूपमा भारततर्फ लैजाँदै गरेको २८ केजी ६८० ग्राम गाँजा बरामद गरेको छ । सुनसरीको देवानगंज गाउँपालिका–४ र ५ स्थित सीमाबाट सो गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्ति भने फरार भएको सशस्त्र प्रहरीले जनाएको छ ।
त्यस्तै, मोरङको जहदा गाउँपालिका–२ मधुमल्लाबाट पनि करिब २ सय ७५ किलो गाँजासहित सोही गाउँपालिका–१ बस्ने २८ वर्षीय चन्दन साहलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म रानीबाट खटिएको टोलीले उनलाई सो गाँजासहित नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका उनलाई बरामद गाँजासहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन् ।