सर्लाही । सर्लाहीको मलंगवामा रहेको जिल्ला कारागारको सुरक्षा जिम्मेवारी अब नेपाली सेनाले सम्हालेको छ। बिहीबार साँझबाट सेना तैनाथ भएसँगै कारागारको सुरक्षा व्यवस्थापन सेनाको नियन्त्रणमा गएको हो।
मलंगवा सुरक्षा बेसबाट उपसेनानी जहेन्द्र सिंह ठगुन्नाको नेतृत्वमा करिब २५ जनाको टोली कारागारमा खटिएको जनाइएको छ। यसअघि उक्त स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा दिँदै आएका थिए।
सरकारको निर्णयअनुसार सुरक्षा दृष्टिले संवेदनशील मानिएका कारागार तथा अन्य महत्वपूर्ण पूर्वाधारमा सेना परिचालन गर्ने नीति लिइएको छ। सोही व्यवस्थाअनुसार मलंगवास्थित कारागारमा पनि सेना परिचालन गरिएको अधिकारीहरूले बताएका छन्।
कालीध्वज गण नवलपुर पाँचकुमारीका गणपति उमेश खड्काका अनुसार सम्बन्धित निकायहरूसँग समन्वय गरेर सुरक्षा व्यवस्थालाई कार्यान्वयनमा ल्याइएको हो। थप व्यवस्था र निगरानी आवश्यकताअनुसार अघि बढाइने बताइएको छ।