सिरहा । सिरहा सदरमुकामस्थित कारागारभित्र एक थान कटुवा पेस्तोल र दुई थान गोली बरामद भएपछि कारागारका ‘नाइके’ भनिने व्यक्तिसहित १३ जनालाई नियन्त्रणमा लिइएको छ ।
जिल्ला सुरक्षा समितिले सोमबार गरेको विशेष अनुगमनका क्रममा कारागारभित्र ‘नाइके’ भनेर चिनिने इन्द्रजित यादवको साथबाट उक्त हतियार बरामद गरिएको हो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार आइतबार नाइके यादवको समूहले अन्य १० जना कैदीबन्दीलाई कुटपिट गरी कारागारबाट बाहिर निकाल्ने कार्य गरेको थियो।
सो घटनापछि प्राप्त गोप्य सूचनाका आधारमा सोमबार सुरक्षा समितिले कारागारभित्र खानतलासी गर्दा कटुवा पेस्तोल र गोली फेला परेको उनले जानकारी दिए । हतियार बरामदसँगै घटनामा संलग्न रहेको आरोपमा नाइके यादवसहित १३ जनालाई कारागारबाट निकालेर प्रहरी हिरासतमा राखिएको प्रजिअ पौडेलले बताए ।