काठमाडौं । पछिल्लो समय एआईको दुरुपयोग बढ्दै गएको पाईएको छ । एआईको दुरुपयोगले गलत सूचना, हेट स्पिच र भ्रामक सामग्री प्रसारण हुने क्रम बढेकाले नेपाल प्रहरीले एआई तथा एड्भान्स एनालेटिक सेल गठन गर्ने तयारी गरेको छ।
सोमबार काठमाडौंमा आयोजित अपराध अनुसन्धान र शान्ति सुरक्षामा सञ्चार माध्यमको भूमिका विषयक एकदिने अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सूचना प्रविधिको दुरुपयोगमार्फत गलत सूचना, हेट स्पिच र भ्रामक सामग्री प्रसारण हुने क्रम बढेकाले त्यस्ता गतिविधिको निगरानी र कानूनी उपचारका लागि सेल गठन गर्न लागेको बताएका हुन्।
उनले एआईको दुरुपयोग, डिजिटल म्यानुपुलेशन र झुटा सामग्रीको बढ्दो समस्यालाई यसले नियन्त्रण गर्न सहज हुने बताउदै आईजीपी कार्कीले छिटो सूचना दिने प्रतिस्पर्धा र होडबाजीका कारण मुलुकमा मिसइन्फरमेशन र डिसइन्फरमेशन फैलिनु गम्भीर चिन्ताको विषय बनेको बताए।
उनले कानून कार्यान्वयन नै कानूनी शासनको आधार हुने उल्लेख गर्दै कपी–पेस्ट प्रवृत्तिले सिर्जनशीलता नष्ट गरिरहेको पनि टिप्पणी गरे।