काठमाडौँ । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले परम्परागत अपराधसँगै सङ्गठित अपराध, साइबर अपराध, अन्तर्राष्ट्रियस्तरमा हुने अपराधले मुलुक र समाज जटिल बन्दै गएको बताएका छन् ।
आइतबार नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ को उद्घाटन कार्यक्रममा उनले प्रविधिको प्रयोगसँगै पछिल्लो समय बढ्दै गएका विभिन्न खालका अपराधलाई नियन्त्रण गर्नका लागि रणनीतिक सम्मेलनले सहयोग पुग्ने बताए ।
‘परम्परागत अपराधसँगै सङ्गठित अपराध, साइवर अपराध, अन्तर्राष्ट्रियस्तरमा हुने अपराधले मुलुक र समाज जटिल बन्दै गएको छ, यसको रोकथामका लागि सम्मेलनमा गहन छलफल हुनेछ’, उनले भने ।
उनले समाजमा हुने अपराध नियन्त्रणका लागि विषयविज्ञको राय तथा सुझाव लिन सम्मेलनको आयोजना गरिएको बताए । आइजीपी कार्कीले नेपाल प्रहरीको मूलमन्त्र ‘सत्य, सेवा, सुरक्षा’ रहेको उल्लेख गर्दै प्रहरी कर्मचारीहरूले यस मन्त्रलाई आत्मसात् गर्नुपर्ने बताए।
नेपालको संविधान, प्रहरी ऐन तथा प्रचलित कानुनअनुसार नेपाल प्रहरीलाई शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्ने, कानुनको प्रभावकारी कार्यान्वयन गर्ने, अपराध रोकथाम तथा अनुसन्धान गर्ने र मानव अधिकारको संरक्षण गर्दै जनउत्तरदायी तथा व्यावसायिक प्रहरी सेवा प्रदान गर्ने जिम्मेवारी रहेको स्पष्ट उनले पारे ।
प्रहरी महानिरीक्षक कार्कीले जिम्मेवारीको दायरा जति व्यापक हुँदै गएको छ, त्यति नै प्रहरीप्रतिको जनअपेक्षा पनि बढ्दै गएको उल्लेख गरे । नेपाल प्रहरी रणनीतिक सम्मेलन– २०८२ ले जेन–जी प्रदर्शनका कारण भौतिक र मानसिक रूपले कमजोर बनेका प्रहरीको मनोबल उच्च बनाउन यस्ता सम्मेलनले सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ । नेपाल प्रहरी रणनीतिक सम्मेलन–२०८२ दुई दिनसम्म चल्नेछ ।