काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाल भारत सीमा नाका ७२ घण्टा अगावै बन्द गर्ने भएको छ ।
शुक्रबार मोरङको विराटनगरमा सम्पन्न भएको सशस्त्र प्रहरी बल नेपाल र भारत सशस्त्र सीमा बल (एसएसबी) बीचको १६ औं डिआईजी स्तरीय समन्वय बैठक सो निर्णय भएको हो ।
बैठकमा सीमा सुरक्षा, सूचनाको आदान–प्रदान, तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश नियन्त्रण, मानव बेचबिखन, नक्कली मुद्रा, हातहतियार तथा लागुऔषध ओसार–पसार नियन्त्रण लगायत विषयमा छलफल भएको थियो।
साथै, सीमा स्तम्भको संरक्षण, यात्रु सहजीकरण, संयुक्त गस्ती, विपद् उद्धार अभ्यास तथा आपसी खेलकुद गतिविधि सञ्चालन गर्ने विषयमा समेत दुवै पक्षबीच छलफल भएको छ।
त्यसैगरी सीमा क्षेत्रका सम्भावित नाकाहरू पहिचान गरी त्यसबाट हुनसक्ने खतरा मूल्याङ्कन गर्ने, शरणार्थीरआप्रवासीहरूको गतिविधि उपर निगरानी राख्ने, विभिन्न तह बनाई चेकप्वाइन्ट र ब्यारियर खडा गर्ने,आपराधिक तत्त्वहरूबाट हुनसक्ने घुसपैठ कडाइका साथ नियन्त्रण गर्ने, सीमा क्षेत्रमा मादक पदार्थ विक्री वितरण र सेवनमा पूर्णतः बन्देज गर्ने लगायत विषयहरूमा समेत छलफल भएको थियो ।