काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पदोन्नति भएका पाँच जना प्राविधिक प्रहरी अधिकृतहरूलाई शुक्रबार दर्ज्यानी चिह्न प्रदान गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक विशेष समारोहका बिच महानिरीक्षक कार्कीले उनीहरूलाई नयाँ पदको दर्ज्यानी चिह्नद्वारा सुशोभित गरेका हुन्।

नेपाल सरकारको माघ १९ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी उपरीक्षकबाट वरिष्ठ उपरीक्षकमा एक जना, नायव उपरीक्षकबाट उपरीक्षकमा दुई जना र निरीक्षकबाट नायव उपरीक्षक पदमा दुई जना गरी कुल पाँच जनाको पदोन्नति भएको थियो ।

पदोन्नतिसँगै दर्ज्यानी चिह्न पाउनेहरूमा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक भीमकुमारी पाण्डे, प्राविधिक प्रहरी उपरीक्षकहरू ईशामाया केसी र मोहनसिंह धामी तथा प्राविधिक प्रहरी नायव उपरीक्षकहरू मिनु अवाले र अशोक केसी रहेका छन्।

समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले पदोन्नति भएका अधिकृतहरूलाई बधाई दिँदै व्यावसायिकताका साथ जिम्मेवारी पूरा गर्न निर्देशन दिए। साथै, उनले आसन्न निर्वाचनलाई भयमुक्त वातावरणमा सम्पन्न गराउन सुरक्षा रणनीतिअनुसार उच्च मनोबलका साथ काम गर्न समेत प्रहरी कर्मचारीहरूलाई सचेत गराए।
