धनगढी । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) हिमालय कुमार श्रेष्ठ सुदूरपश्चिम प्रदेश आइपुगेका छन् । नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, काठमाडौंको प्रशासन विभाग प्रमुखसमेत रहेका एआईजी श्रेष्ठ आइतबार साँझ धनगढी आइपुगेका हुन् । निर्वाचनलाई लक्षित गर्दै धनगढी पुगेका एआईजी श्रेष्ठले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय तथा मातहतका विभिन्न प्रहरी इकाइहरूमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशनात्मक सम्बोधन गरेका छन् ।
सम्बोधनका क्रममा उनले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन प्रहरीको भूमिका अत्यन्तै संवेदनशील हुने उल्लेख गरे । एआईजी श्रेष्ठले सुरक्षा संवेदनशील क्षेत्रहरूमा विशेष सतर्कता अपनाउन, कुनै पनि प्रकारका अवाञ्छित गतिविधि हुन नदिन सक्रिय भूमिका निर्वाह गर्न र कानुनको पूर्ण पालना गर्दै नागरिकमैत्री ढंगले काम गर्न निर्देशन दिए । एआईजी श्रेष्ठको सुदूरपश्चिमका विभिन्न जिल्लामा पुगेर सुरक्षा व्यवस्था, तयारी तथा चुनौतीबारे स्थलगत रूपमा समीक्षा गर्दै निर्देशन दिने कार्यतालिका रहेको छ ।