सप्तरी । सप्तरीको राजविराज भन्सार कार्यालयअन्तर्गत रहेको प्रहरी बिटमा रकम लिँदै गरेको दृश्य खिच्ने क्रममा नयाँ पत्रिकाका पत्रकार सौरभ यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आइतबार तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित प्रहरी बिटमा एकजना प्रहरीले एक महिला व्यापारीसँग पैसा लिँदै गरेको फोटो तथा भिडियो खिच्न खोज्दा हवल्दार डी. यादवले पत्रकार यादवलाई नियन्त्रणमा लिएको जनाइएको छ। प्रहरीले उनलाई करिब १५ मिनेट नियन्त्रणमा राखेपछि छाडेको बताइएको छ।
नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष रामनारायण विश्वासले घटनाप्रति आपत्ति जनाउँदै यसले प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको बताएका छन्। उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।
घटनाबारे सम्बन्धित निकायबाट औपचारिक प्रतिक्रिया आउन बाँकी छ।