सुर्खेत । लोकसेवा आयोग सुर्खेत कार्यालयले सञ्चालन गरेको प्रहरी जवान (जनपद) पदको लिखित परीक्षामा नक्कली परीक्षार्थी खटाएको आरोपमा १२ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार माघ १७ गते भएको परीक्षामा अर्काको नाममा परीक्षा दिइ आर्थिक लाभ लिने उद्देश्यले किर्ते कागजात प्रयोग गरिएको पाइएको हो। पक्राउ परेकाहरूले सक्कली परीक्षार्थीको नागरिकता र प्रवेशपत्रमा फोटो तथा हस्ताक्षर परिवर्तन गरी परीक्षा दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूमाथि लिखत किर्ते तथा आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरू जाजरकोट, दैलेख, सुर्खेत र बाँके जिल्लाका विभिन्न स्थानीय तहका बासिन्दा हुन्। उनीहरूमध्ये केही नक्कली परीक्षार्थी, केही वास्तविक परीक्षार्थी तथा एक जना सहयोगी (मतियार) रहेको जनाइएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।