काठमाडौं । नेपाल प्रहरीको राशन रकम वृद्धि गर्ने सरकारको निर्णयलाई प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले न्याय, समानता र प्रहरीको मनोबल सुदृढीकरणका दृष्टिले महत्वपूर्ण उपलब्धि भएको बताएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै आईजीपी कार्कीले सरकारको उक्त निर्णयले प्रहरी कर्मचारीको सेवाप्रति सम्मान र संस्थागत न्यायको स्पष्ट सन्देश दिएको उल्लेख गरेका हुन् ।
आईजीपी कार्कीका अनुसार नेपाल प्रहरीभित्र लामो समयदेखि उठ्दै आएको जायज तथा अपेक्षित मागलाई सम्बोधन गर्दै राशन रकम वृद्धि गरिएको हो । यस निर्णयका लागि उनले नेपाल सरकार, तालुक गृह मन्त्रालय, अर्थ मन्त्रालय तथा निर्णय प्रक्रियामा संलग्न सम्पूर्ण सरोकारवाला निकायप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको रासन स्केल बढाउने निर्णय गरेको हो । यसअघि नेपाल प्रहरीले रासनमा १६ प्रकारका खाद्यसामाग्री पाउँदै आएकोमा अब १९ प्रकारको पाउनेछन् । यसअनुसार प्रहरीको रासनभत्ता करिब १० प्रतिशत बढ्नेछ ।
प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरीले पाउने चामलको मात्रा बढेको छ । हाल प्रहरीले दैनिक ६९० ग्राम तौल चामल पाउँदै आएकोमा अब ७२० ग्राम पाउनेछन् । त्यस्तै, हप्तामा एउटा अण्डा, २५ ग्राम कुखुराको मासु र २५ ग्रामको इनर्जी बिस्कुट थप पाउने भएका छन् । जून सशस्त्र प्रहरीका कर्मचारीले पाउँदै आएका छन् ।