काठमाडौं । सरकारले नेपाल प्रहरीको राशन स्केल वृद्धि गर्ने निर्णय गरेको छ। प्रहरी महानिरीक्षक (आईजिपी) दानबहादुर कार्कीको पहलपछि मन्त्रिपरिषद्ले माघ १५ गते उक्त निर्णय गरेको हो।
आईजिपी कार्कीले गत भदौ २७ गते आयोजित दर्ज्यानी चिन्ह समारोहमा नेपाल प्रहरीको राशन स्केल सुधार गर्ने प्रतिबद्धता जनाएका थिए। सोही प्रतिबद्धता अनुसार हाल भएको निर्णय कार्यान्वयनमा जान लागेको हो।
लामो समयदेखि नेपाल प्रहरीको राशन स्केल अन्य सुरक्षा निकायको तुलनामा कम रहेको भन्दै असमानता रहेको गुनासो उठ्दै आएको थियो। आईजिपी कार्की नेतृत्वमा आएपछि उक्त असमानता हटाउन पहल गरिएको जनाइएको छ।
निर्णयअनुसार नेपाल प्रहरीले फागुन १ गतेदेखि अन्य सुरक्षा निकायसरहको राशन सुविधा प्राप्त गर्नेछ। यसले प्रहरी संगठनभित्र मनोबल अभिवृद्धि हुने अपेक्षा गरिएको छ।
सुरक्षा निकायबीच समान सुविधा लागू हुनु संगठनात्मक सन्तुलन कायम गर्ने दिशामा महत्वपूर्ण कदम मानिएको छ। यसले प्रहरी सेवाको प्रभावकारिता र पेशागत विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ।
आईजिपी कार्की नियुक्त भएपछि नेपाल प्रहरीभित्र विभिन्न सुधार कार्यक्रम अघि बढाइएको जनाइएको छ। सेवा प्रवाह सुधार तथा कर्मचारीको मनोबल वृद्धि गर्ने उद्देश्यले ती कार्यक्रमहरू कार्यान्वयन भइरहेको सम्बन्धित निकायले जनाएको छ।