काठमाडौँ । प्रहरीले काठमाडौँमा रातिको समयमा लुटपाट र आतङ्क मच्चाउने १० जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीवार पत्रकार सम्मेलन गरी उनीहरूलाई आज सार्वजनिक गरेको हो।
प्रहरीले बुधवारदेखि सर्च अपरेसन चलाएर उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले जानकारी दिए।
लुटपाट गर्ने गिरोहको नाइके विनय तामाङ , आयन माझी, मनिस रसाइली, सविन माझी, पेमा तामाङ, सलोन तामाङ, राजीव भण्डारी, विशाल तामाङ, विदुर विश्वकर्मा, फुर्वा तामाङ रहेका छन् । पक्राउ परेकामध्ये मुख्य नाइके तामाङलाई गोली लागेको छ र अहिले उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
हिरासतबाट भागेका थिए तामाङ
लुटपाट गर्ने गिरोहको नाइके विनय तामाङ जेन–जी आन्दोलन अगाडि पनि बूढानीलकण्ठ क्षेत्रमा चोरी गरेको आरोपमा पक्राउ परी महाराजगञ्ज प्रहरीको हिरासतमा थिए। उनी भदौ २४ मा उनी हिरासतबाट भागेका थिए। हिरासतबाट भागेपछि समूह बनाएर विभिन्न ठाउँमा लुटपाट गर्ने गिरोह गठन गरेर सक्रिय भएको खुलेको छ ।
बुधवार साँझदेखि बिहीवार बिहानसम्म सञ्चालन गरेको सर्च अपरेसनमार्फत उनीहरूलाई पक्राउ गरी कारबाहीको प्रक्रिया अगाडि बढाइएको हो। हालसम्म उक्त गिरोहले स्वयम्भूमा ७ वटा, महाराजगञ्ज तथा बूढानीलकण्ठ क्षेत्र, बौद्ध क्षेत्र र गौशला क्षेत्रमा ३/३ वटा र ठिमीको क्षेत्रमा १३ वटा लुटपाट गरेको अनुसन्धानबाट खुलेको एसएसपी थापाले जानकारी दिए। उनीहरुविरुद्ध हालसम्म २७ वटा जाहेरी आएका छन्।