चितवन । रत्ननगर नगरपालिका–४ की ६३ वर्षीया सुकमायादेवी तामाङको हत्या लुटपाटको उद्देश्यले गरिएको खुलेको छ। चितवन प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी घटनामा संलग्न भएको आरोपमा पाँच जनालाई पक्राउ गरेको जानकारी दिएको हो।
गत पुस २६ गते सुकमाया आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार मुख्य योजनाकार शुक्रबहादुर भोलोन र बुद्धिमान लामाले लुट्ने योजना बनाइ अन्य तीन जनाको सहयोगमा हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। शुक्रबहादुर दुई वर्षअघि सुकमायाकै घरमा डेरा गरी बसेको पनि प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा–२२ घर भई रत्ननगर–१० बस्ने ४६ वर्षीय शुक्रबहादुर भोलोन, जितपुर सिमरा–२२ घर भई ललितपुर–१० बस्ने ४२ वर्षीय सूर्यमान वाइबा, धादिङ थाक्रे–५ का ३२ वर्षीय बुद्धिमान लामा, स्याङ्जा बिरुवा–८ घर भई रत्ननगर–४ बस्ने ३१ वर्षीय मिलन भन्ने कौबहादुर गुरुङ र मकवानपुर थाहा नगरपालिका–१२ घर भई काठमाडौं थानकोट बस्ने ४७ वर्षीय हीराबहादुर स्याङ्ताङ छन्।
आफन्तका अनुसार सुकमायाको घरबाट सुनका गहना, मोबाइल र नगद गरी करिब १५ लाख ३६ हजार ७ सय रुपैयाँ बराबरको धनमाल हराएको थियो। प्रहरीले तालिमप्राप्त कुकुर र प्राविधिक उपकरणको सहयोगमा अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीका अनुसार शुक्रबहादुर चित्रसारीबाट, सूर्यमान सौराहाचोकबाट, बुद्धिमान नवलपरासीको विनयी त्रिवेणी–४ बाट, कौबहादुर मुग्लिङ नजिक फिस्लिङबाट र हीराबहादुर काठमाडौं थानकोटबाट पक्राउ परेका हुन्। उनीहरूबाट सुकमायाले प्रयोग गर्ने मोबाइल र पैसा राख्ने पर्स बरामद गरिएको छ।
पक्राउ परेकाविरुद्ध कर्तव्य ज्यान तथा डाँका सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ।