गुल्मी - गुल्मीको इश्मा गाउँपालिका–२, छल्दीटारमा तीन महिनाको शिशुको हत्या भएको घटनामा शिशुका बाबु पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार हत्या आरोपमा ४६ वर्षीय सन्तबहादुर कुमाललाई नियन्त्रणमा लिइएको हो। प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुका अनुसार मदिरा सेवन गरेका कुमालले शिशुलाई टिपेर भुइँमा पछार्दा घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनाबारे कुमालकी जेठी छोरी सरिताले हस्तीचौर प्रहरी चौकीमा जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी सहायक निरीक्षक विनयकुमार श्रीवास्तवको नेतृत्वमा खटिएको टोलीले कुमाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।