काठमाडौं । जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा खड्काले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्लामा सुरक्षा व्यवस्था उच्च प्राथमिकताका साथ अघि बढाइएको बताएकी छन् ।
केही दिन अघि निर्वाचनको मुखमै सरुवा भएर झापा पुगेकी प्रहरी उपरीक्षक खड्काले बुधबार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सुरक्षा तयारी र प्राथमिकताबारे जानकारी गराएकी हुन् ।
उनले सुरक्षा संवेदनशीलता तथा उम्मेदवारको सुरक्षा जोखिमको मूल्याङ्नका आधारमा सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिइन् । कुनै पनि उम्मेदवारले आफ्नो सुरक्षामा चुनौती महसुस गरी निवेदन दिएमा आवश्यकताअनुसार तत्काल सुरक्षा उपलब्ध गराइने उनले स्पष्ट पारिन्।
निर्वाचन सुरक्षालाई थप प्रभावकारी बनाउन जिल्लामा १०० जना सुरक्षाकर्मी थप गरिएको र उनीहरू सडक, गाउँघर तथा संवेदनशील क्षेत्रमा परिचालन भइसकेको उनको भनाइ छ ।
थप सुरक्षाकर्मीको उपस्थितिलाई शङ्काको रूपमा नलिन आग्रह गर्दै उनले सबै सुरक्षाकर्मी सुरक्षा योजनाअनुसार परिचालित भइरहेका बताइन् । आवश्यकताअनुसार थप सुरक्षाकर्मीसमेत खटाइने उनले उल्लेख गरिन् ।
नियमित गस्तीका क्रममा कुनै उम्मेदवारसँग सम्बन्धित व्यक्तिको आसपास सुरक्षाकर्मी देखिनु संयोग मात्र हुनसक्ने जनाउँदै त्यसलाई विशेष सुरक्षा दिइएको अर्थमा नबुझ्न उनले आग्रह गरिन् ।
झापा ५ मा यस पटक चुनावी माहोल निकै तातिएको छ । अघिल्ला चुनाव भन्दा यसपटकको चुनावलाई निकै महत्त्वका साथ हेरिएको छ । किनभने यस पटक नेकपा (एमाले) अध्यक्ष केपी ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लगायतका उम्मेदवारहरू चुनावी मैदानमा रहेका छन् । यस अर्थमा पनि यहाँको सुरक्षा व्यवस्था कडा हुने निश्चित छ ।