काठमाडौं । लामो समयदेखि एउटै कार्यालयमा कार्यरत रहँदै आएका ८२ जना प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले एकैपटक जिम्मेवारीबाट हटाई छानबिन थालेको छ।
प्रहरी प्रधान कार्यालयअन्तर्गत निरीक्षणालयले ती प्रहरीलाई कार्यालयबाट तानेर अनुसन्धान गरिरहेको जनाएको छ। तानिएका प्रहरीमध्ये अधिकांश सादा पोसाकमा काम गर्ने तल्लो तहका कर्मचारी रहेका छन्।
प्रहरीका अनुसार आन्तरिक सुधार तथा शुद्धीकरण अभियानअन्तर्गत उजुरी र नियमित अनुगमनका क्रममा कैफियत देखिएपछि उनीहरूलाई मुख्यालय झिकाइएको हो। यसरी तानिने प्रहरीमध्ये धेरैजसो तराईका जिल्लामा कार्यरत रहेका छन्। तीमध्ये पनि मधेश प्रदेशका जिल्लाबाट तानिएका संख्या बढी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रहरी प्रवक्ता अबिनारायण काफ्लेका अनुसार सुधार अभियानकै क्रममा ८२ जनालाई जिम्मेवारीबाट हटाएर छानबिन थालिएको हो। “अनुगमन गर्दा कमजोरी देखिएका र उजुरी परेका प्रहरीलाई मुख्यालय झिकाएर अनुसन्धान भइरहेको छ,” उनले भने, “यो आन्तरिक शुद्धीकरणको प्रक्रिया हो। दोषी ठहर भए कारबाही हुन्छ, नदेखिए पुनः कार्यक्षेत्रमा पठाइनेछ।”
छानबिनको जिम्मा प्रहरीको सुपरिवेक्षण तथा अनुगमन महाशाखालाई दिइएको छ। छानबिनमा तानिएकामध्ये केही प्रहरी काठमाडौं उपत्यकामा कार्यरत रहेका थिए।
स्रोतका अनुसार छानबिन सुरु भएपछि केही प्रहरी कर्मचारीले राजीनामा समेत दिएका छन्। प्रारम्भिक जाँचका क्रममा कतिपय प्रहरी एकै शाखामा आठ वर्षसम्म कार्यरत रहेको र आवश्यक तालिम नलिई ट्राफिक व्यवस्थापनमा खटाइएको पनि भेटिएको छ।
छानबिनमा हाल तल्लो तहका प्रहरी मात्र तानिएका छन्। उनीहरूलाई परिचालन गर्ने उच्च तहका अधिकृतमाथि भने हालसम्म अनुसन्धान अघि बढ्न नसकेको प्रहरी स्रोतले जनाएको छ।