काठमाडौं । ओखलढुंगामा गएराति दम्पतीको विभत्स हत्या भएको घटना सार्वजनिक भए लगत्तै कांग्रेस नेता रामहरि खतिवडाले राज्यको सुरक्षामाथि प्रश्न उठाएका छन् । जिल्लाको चिशंखुगढी गाउँपालिका–६ भदौरेमा वृद्ध दम्पतीको हत्या भएको भन्दै उनले राज्य सुरक्षाको हिसाबले कमजोर देखिएको बताएका हुन् ।
भदौरेको बोहोरेमा बसोबास गर्दै आएका ८० वर्षीय चन्द्रविक्रम राई र उनकी पत्नी चन्द्रमाया राईको हत्या भएको घटना सार्वजनिक भएपछि खतिवडाले राज्यको सुरक्षामा प्रश्न उठाएका हुन् । वृद्ध दम्पतीले सञ्चालन गरेको किराना पसलमा लुटपाटपछि हत्या भएको खुलेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक मदन केसीका अनुसार उक्त घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।ओखलढुंगामै एक महिना अगाडि एक दम्पतीको हत्या भएको थियो । चिशंखुगढी भदौरेमा ६० वर्षीय शोभितमान थापामगर र पत्नी रत्नमाया थापामगरको हत्या भएको एक महिनापछि जिल्लामा अर्को दम्पतीको हत्या भएको भन्दै नेता खतिवडाले आपत्ति जनाएका हुन् ।