काठमाडौं । भिसाको प्रयोजनविपरीत गतिविधिमा संलग्न रहेको आरोपमा दुई जना विदेशी नागरिकलाई अध्यागमन विभागले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा पर्नेमा एक जना अमेरिकी र एक जना चिनियाँ नागरिक रहेका छन्।
अध्यागमन विभागका निर्देशक टिकाराम ढकालका अनुसार पकनाजोलस्थित फेमिली पिस होटलमा बस्दै आएका चिनियाँ नागरिक सन् २०१२ मा पहिलो पटक पर्यटक भिसामा नेपाल आएका थिए। त्यसपछि उनले पटक–पटक गरी १३ पटकसम्म व्यावसायिक भिसा लिएको पाइएको छ। उनले युन सुपिङ होटल, होटल विथ रेस्टुरेन्ट यान, झोङविन इन्टरनेशनल कार्गो, माओविङ रेस्टुरेन्ट, स्प्रिट मंकी इन्फरमेसन टेक्नोलोजी र शाव जिअसुन होटल नामका कम्पनी दर्ता गरी तिनैको आधारमा भिसा लिँदै आएको विभागले जनाएको छ।
तर ती कम्पनीहरू भिसा प्रयोजनका लागि मात्र दर्ता गरिएको र वास्तविक लगानी तथा कारोबार नभएको पाइएको निर्देशक ढकालले बताए। उनी पर्यटक र व्यावसायिक भिसामा नेपाल बसेर विगत चार वर्षदेखि विभिन्न विद्यालयमा अध्यापनलगायत काम गर्दै आएको पनि विभागको भनाइ छ। प्रचलित कानुनअनुसार यस्ता भिसामा रहेका विदेशीले काम गर्न नपाउने व्यवस्था छ।
विभागका अनुसार उनले पटक–पटक भिसा परिवर्तन गर्दै फरक–फरक प्रकृतिका कम्पनी दर्ता गरी लामो समय नेपाल बस्ने उद्देश्य मात्र राखेको र भिसाको मर्मविपरीत गतिविधि गरेको देखिएपछि नियन्त्रणमा लिई निष्कासन प्रक्रिया सुरु गरिएको हो।
त्यस्तै, पक्राउ परेका अमेरिकी नागरिक पहिलो पटक सन् २०१७ मा नेपाल आएका थिए। सन् २०२० मा पुनः नेपाल आएपछि हालसम्म यहीँ बस्दै आएका थिए। उनले सिन्धुपाल्चोकको साँगाचोकगढीमा क्यालभरी सर्भिस सेन्टर प्रालि दर्ता गरेको भए पनि कम्पनीको ठेगाना ललितपुर महानगरपालिका–१८ सैंबु देखाइएको विभागले जनाएको छ।
छानबिनका क्रममा उनले गोदावरी नगरपालिकामा घर भाडामा लिएर गैरकानुनी रूपमा बालगृह सञ्चालन गरेको खुलेको छ। उक्त स्थानमा आधिकारिक बोर्डसमेत नराखी आर्थिक रूपमा कमजोर १२ जना बालिकालाई राखिएको र उनीहरूलाई क्रिश्चियन धर्मसम्बन्धी गतिविधिमा संलग्न गराइएको स्थानीयवासीले बताएका छन्। भवनका भित्तामा पनि सो धर्मसँग सम्बन्धित सन्देश लेखिएको पाइएको छ।
विभागका प्रवक्ता ढकालका अनुसार ती अमेरिकी नागरिक नेपाल बस्नकै उद्देश्यले पटक–पटक अध्ययन र व्यावसायिक भिसा लिएको देखिएको छ। नियन्त्रणमा परेपछि उनले नेपाल सरकार र प्रशासनबारे आपत्तिजनक अभिव्यक्ति दिएको पनि विभागले जनाएको छ।
अध्यागमन विभागले दुवै विदेशी नागरिकलाई जरिवाना गरी निष्कासन गर्ने तयारी गरेको छ। पछिल्ला महिनाहरूमा भिसाको उद्देश्यविपरीत नेपालमा बसोबास गर्ने विदेशीमाथि निगरानी र कारबाहीलाई कडाइ गरिएको विभागले जनाएको छ।