काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को निर्वाचनअन्तर्गत आजबाट मतदान प्रक्रिया सुरु भएको छ। यस निर्वाचनमार्फत संघको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन हुने भएकाले सदस्यहरूबीच उत्साह र चासो उल्लेख्य रूपमा बढेको छ।
मतदान प्रक्रिया सुरु भएको जानकारी सचिव पदका उम्मेदवार आशिक कार्कीले दिएका छन्।
यस निर्वाचनमा अध्यक्ष पदका लागि दुई प्रमुख प्रत्यासीबीच कडा प्रतिस्पर्धा देखिएको छ। अध्यक्ष पदका लागि दीपकराज भुषाल र लक्ष्मण पौडेल ‘एन्ड्रयू’ चुनावी मैदानमा आमनेसामने छन्। दुबै उम्मेदवारले आफ्नो अनुभव, संगठनभित्रको योगदान, टिम संरचना र स्पष्ट एजेन्डाका आधारमा सदस्यहरूको विश्वास जित्ने प्रयास गरिरहेका छन्।
भुषाल पक्षले संस्थागत निरन्तरता, अनुभव र अघिल्लो कार्यसमितिको कामलाई मुख्य आधार बनाउँदै अघि बढिरहेको छ भने पौडेल पक्षले सुधार, विस्तार र नयाँ योजनामार्फत इक्यानलाई थप व्यवस्थित र व्यावसायिक बनाउने एजेन्डा अघि सारेको छ। यही कारण अध्यक्ष पदको प्रतिस्पर्धा निकै रोचक र निर्णायक मानिएको छ।
मतदान सुरु भएसँगै इक्यानभित्र चुनावी माहोल तातेको छ। सदस्यहरू आ–आफ्नो मतमार्फत संस्थाको भावी नेतृत्व चयन गर्न जुटिरहेका छन् भने निर्वाचनको परिणामले इक्यानको आगामी नीति, कार्यक्रम र दिशालाई प्रभाव पार्ने अपेक्षा गरिएको छ।