काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नागरिकलाई निर्वाचनमार्फत मुलुकको परिवर्तन गर्न सक्ने नेतृत्व चयन गर्न आह्वान गरेका छन् । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को साधारणसभा उद्घाटन गर्दै मन्त्री खरेलले राजनीतिक दल र नेताको अन्धभक्त वा व्यक्तिगत स्वार्थमा आधारित दास नभई, लोकतान्त्रिक माध्यमबाट मुलुकलाई अगाडि बढाउने नेतृत्व छान्न आग्रह गरेका छन्।
उनले भने, मुलुकले परिवर्तन खोजेको अवस्थामा परिवर्तनका लागि मतदान गर्नु अत्यन्त आवश्यक छ। मन्त्री खरेलले नेपालको राजनीति अझै परिवार, गुट र सत्ता केन्द्रित गठबन्धनमा सीमित भएकाले देशले अपेक्षित विकास र स्थिरता पाउन नसकेको बताएका छन् । उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनपछि सहज रूपमा नयाँ सरकारलाई सत्ता हस्तान्तरण गरिने पनि उल्लेख गरेका छन् । साथै, मन्त्री खरेलले पदमा कति समय रहनेभन्दा, पदमा रहेर गर्ने कामको महत्व बढी हुने बताउँदै आफुले छोटो समय सरकारमा रहेपनि प्रभावकारी काममा ध्यान दिएको बताएका छन् ।