काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आसन्न निर्वाचनका लागि अध्यक्षका प्रत्यासी लक्ष्मण पौडेल ‘एन्ड्रयू’ले आफ्नो प्यानल सार्वजनिक गरेका छन्। काठमाडौँमा आयोजित घोषणा सभालाई सम्बोधन गर्दै उनले शैक्षिक परामर्श क्षेत्रमा लामो समयदेखि गर्दै आएको योगदान र भावी योजनाका आधारमा आफू नेतृत्वका लागि अघि बढेको स्पष्ट पारे।
दुई दशकको अनुभवका आधारमा उम्मेदवारी
घोषणा सभामा बोल्दै पौडेलले आफूले शैक्षिक परामर्श क्षेत्रमा करिब दुई दशकको अनुभव हासिल गरिसकेको बताए। इक्यान अध्यक्ष पदमा उम्मेदवारी अचानक आएको निर्णय नभएको स्पष्ट पार्दै उनले एक कार्यकाल उपाध्यक्षको रूपमा काम गर्दा संस्थाभित्रको संरचना, समस्या र सम्भावनालाई नजिकबाट बुझ्ने अवसर पाएको उल्लेख गरे। यही अनुभव र सिकाइका आधारमा अध्यक्ष पदमा उम्मेदवारी दिएको उनको भनाइ थियो।
शैक्षिक परामर्श क्षेत्र अव्यवस्थित अवस्थामा
पौडेलले नेपालको शैक्षिक परामर्श क्षेत्र हाल विभिन्न समस्याले ग्रस्त रहेको बताए। अव्यवस्थित ढंगले सञ्चालन भइरहेको यो क्षेत्रलाई अब व्यवस्थित, मर्यादित र विश्वसनीय बनाउनु पर्ने आवश्यकता औँल्याउँदै उनले इक्यानको नेतृत्व त्यसतर्फ केन्द्रित हुनुपर्ने बताए। शैक्षिक परामर्श क्षेत्रलाई केवल जीविकोपार्जनको माध्यम होइन, आकर्षक र सम्मानित व्यवसायका रूपमा स्थापित गर्नुपर्ने उनको धारणा थियो।
इक्यानको दायरा विस्तार र मर्यादा उकास्ने योजना
इक्यानको दायरा अझ फराकिलो बनाउनुपर्नेमा जोड दिँदै पौडेलले संस्थाको मर्यादा र विश्वसनीयता अभिवृद्धि गर्न विशेष कार्यक्रम ल्याउने बताए। वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीहरूलाई लक्षित गरी ‘इक्यान स्कलरशिप’ लागू गर्ने योजना सार्वजनिक गर्दै उनले यसले संस्थाको गरिमा बढाउनुका साथै अभिभावक, विद्यार्थी र इक्यानबीचको सम्बन्ध थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे।
इक्यानको कर्पोरेट अफिस स्थापना गर्ने प्रतिवद्धता
संस्थागत सुदृढीकरणको सन्दर्भमा पौडेलले इक्यानको आफ्नै भवन आवश्यक रहेको उल्लेख गरे। आफू निर्वाचनमा विजयी भएको खण्डमा विशेष कोष खडा गरी छ महिनाभित्रै इक्यानको कर्पोरेट अफिस स्थापना गर्ने प्रतिवद्धता जनाए। यसले इक्यानलाई थप व्यवस्थित, व्यावसायिक र दीर्घकालीन रूपमा बलियो संस्था बनाउने उनको भनाइ थियो।
योजनामुखी नेतृत्वको दाबी
घोषणा सभाको अन्त्यतिर पौडेलले आफ्नो उम्मेदवारी व्यक्तिवादी आकांक्षामा नभई संस्थागत सुधार र क्षेत्रको समग्र विकासमा केन्द्रित रहेको बताए। अनुभव, स्पष्ट योजना र कार्यान्वयन क्षमताका आधारमा इक्यानलाई नयाँ उचाइमा पुर्याउने आफ्नो लक्ष्य रहेको उल्लेख गर्दै उनले सदस्यहरूको साथ र विश्वास मागे।