काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी निर्वाचनलाई लक्षित गर्दै अध्यक्षका प्रत्यासी दीपकराज भुषाल समूहले उम्मेदवारी घोषणा कार्यक्रम आयोजना गरेको छ। सो कार्यक्रममा इक्यानका पूर्व अध्यक्ष प्रकाश पाण्डेले दिएको अभिव्यक्तिले निर्वाचनको बहसलाई थप धारिलो बनाएको छ। उनले ईक्यान निर्वाचनमा A B C D E होईन A to Z एजेण्डा बोकको टिमले विजयी हुनुपर्ने बताए।
नेतृत्वका लागि अनुभव अपरिहार्य
कार्यक्रममा बोल्दै पाण्डेले इक्यानजस्तो विशाल र प्रभावशाली संस्थाको नेतृत्व लिन अनुभव अनिवार्य हुने बताएका छन्। उनले छोटो समयका लागि आउने, व्यक्तिगत ब्रान्डिङका लागि मात्र सक्रिय हुने व्यक्तिलाई नेतृत्व सुम्पन नसकिने स्पष्ट पारे। “यो फोरम कन्ट्रिव्युशनका लागि हो, पर्सनल ब्रान्डिङका लागि होइन,” उनले भने।
कार्यसमितीमा बसेर योगदान दिएको टिमलाई साथ
पाण्डेले कार्यसमितीमा बसेर अनुभव हासिल गरेको र निरन्तर योगदान दिएको टिम नै संस्थालाई अगाडि बढाउन सक्षम हुने दाबी गरे। अर्का प्रत्यासी लक्ष्मण पौडेलको प्याननप्रति कटाक्ष गर्दै पाण्डेले १८ जनाले नेतृत्व स्वीकार गर्न नसकेको टिमले संस्थाको नेतृत्व कसरी गर्ला भन्ने प्रश्न उठाउँदै हालको भुषाल समूह अनुभव र एकतामा बलियो रहेको बताए।
जित सामाजिक सञ्जालले होइन, मतले तय हुन्छ
निर्वाचनको सन्दर्भमा सामाजिक सञ्जालको चर्चा गर्दै पाण्डेले “सोसल मिडियामा जित्ने होइन, जित्नुपर्ने मन र मत हो” भन्ने धारणा राखे। रिलमा राम्रो देखिनु भन्दा वास्तविक काम र व्यवहारमा राम्रो हुनुपर्ने उनको भनाइ थियो। उनका अनुसार पाँच जना उम्मेदवार त निर्विरोध निर्वाचित भइसकेका छन् भने बाँकीले पनि २८ गते जित सुनिश्चित गर्नेछन्।
भुषालको नेतृत्व क्षमता र निरन्तरता
अध्यक्षका प्रत्यासी दीपकराज भुषालले इक्यानमा पाएका हरेक जिम्मेवारी सफलतापूर्वक पूरा गर्दै यहाँसम्म आइपुगेको भन्दै पाण्डेले उनको प्रशंसा गरे। भुषालले सधैँ सक्षम र काम गर्न सक्ने व्यक्तिलाई साथ–सहयोग गर्दै आएको उल्लेख गर्दै उनले यो समूहले आफ्ना हरेक वाचा पूरा गर्दै आएको दाबी गरे।
आरोपको खण्डन र अर्का प्रत्यासीप्रति टिप्पणी
इक्यानमा कब्जा जमाएको भन्ने आरोपको खण्डन गर्दै पाण्डेले शैक्षिक परामर्श क्षेत्रको सबलीकरणका लागि काम गर्न सक्ने टिमलाई आफ्नो सधैँ साथ रहने स्पष्ट पारे। साथै, अर्का अध्यक्षका प्रत्यासी लक्ष्मण पौडेल ‘एन्ड्रयू’ले यसअघिको कार्यसमितीले उत्कृष्ट काम गरेको भन्दै दिएको अभिव्यक्ति स्मरण गराउँदै चुनावको बेला आफ्नै भनाइ विपरित बोलेको टिप्पणी गरे।
पूर्व अध्यक्ष पाण्डेले अन्त्यमा पुनः जोड दिँदै भने, “इक्यानको नेतृत्व खेलौना होइन, अनुभव, योगदान र निरन्तरताको परीक्षा हो,” भन्दै अनुभवहीन व्यक्तिलाई यस्तो संस्थाको नेतृत्व दिन नसकिने धारणा राखे।