काठमाडौँ । इक्यान चितवनको निर्वाचन प्रकृयामा धाँधलीको आरोप लागेको छ । आकारुइ एजुकेशन कन्सल्टेन्सी प्रा.लि.ले चितवन शाखामा सम्पन्न १४औँ वार्षिक साधारण सभा तथा ८औँ अधिवेशनअन्तर्गत भएको निर्वाचन प्रक्रियामा गम्भीर कानुनी त्रुटि र निर्वाचन धाँधली भएको आरोप लगाउँदै औपचारिक उजुरी दर्ता गराएको छ ।
आकारुइ एजुकेशन कन्सल्टेन्सीका प्रज्वल पौडेलका अनुसार निवार्चनमा धाँधली भएको र यसबारे छानविन भईरहेको छ। उनले केहि दिन भित्रै यसको छानविन गरी सत्य–तथ्य प्रकाशमा आउने बताए ।
कन्सल्टेन्सीका अनुसार इक्यान केन्द्रीय कार्यालयबाट खटाइएका निर्वाचन अधिकृतले सङ्घको विधान, संस्था ऐन २०३४ तथा प्रचलित कानुनको उल्लङ्घन गर्दै निर्वाचन प्रक्रिया सञ्चालन गरेका छन् । उजुरीमा वैधानिक मतदाता नामावलीमा मनपरी रूपमा नाम थपघट गरिएको, आधिकारिक प्रतिनिधिको नाम हटाई गैरसम्बन्धित व्यक्तिलाई मताधिकार प्रदान गरिएको र जानकारी नदिई गोप्य रूपमा निर्वाचन गराइएको उल्लेख छ ।
निर्वाचन प्रक्रियाका क्रममा पटक–पटक आपत्ति जनाउँदा समेत निर्वाचन अधिकृतले बेवास्ता गरेको, फोन कल र लिखित जानकारीलाई प्रमाणका रूपमा सुरक्षित राखिएको र अन्तिम नतिजा सार्वजनिक गर्दा पनि गम्भीर त्रुटि सच्याउन अस्वीकार गरिएको उजुरीमा उल्लेख छ । अकारुई एजुकेशन कन्सल्टेन्सीले विवादित निर्वाचन प्रक्रिया तत्काल रद्द गरी चितवन शाखाको नयाँ कार्यसमिति विघटन गर्न, निष्पक्ष वातावरणमा पुनः निर्वाचन गराउन तथा सम्बन्धित निर्वाचन अधिकृतमाथि छानबिन र कारबाही गर्न माग गरेको छ ।
साथै, निर्वाचनसँग सम्बन्धित सम्पूर्ण निर्णय, कागजात, कार्यादेश र जिम्मेवारी विवरण सूचना अधिकार ऐन, २०६४ अनुसार उपलब्ध गराउनसमेत माग गरिएको छ। माग पूरा नभए कानुनी तथा संवैधानिक उपचारका सबै प्रक्रिया अवलम्बन गरिने चेतावनी पनि दिइएको छ। यसरी जिल्ला शाखामा समेत धाँधली भइरहँदा अब हुने केन्द्रीय निर्वाचनमा धाँधलीरहित होला त भन्नेमा शंका उत्पन्न भएको छ ।

