काठमाडौँ । अमेरिकाले नाइजेरियाको उत्तर–पश्चिमी क्षेत्रमा इस्लामिक स्टेट आईएस समूहलाई लक्षित गर्दै शक्तिशाली हवाई आक्रमण गरेको दाबी गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त आक्रमण “घातक र प्रभावकारी” रहेको बताएका छन्।
ट्रम्पले आईएसलाई “आतङ्ककारी समूह”को संज्ञा दिँदै निर्दोष नागरिक, विशेषगरी इसाइ समुदायलाई लक्षित गरी हत्या गर्दै आएको आरोप लगाएका छन्। उनका अनुसार अमेरिकी सेनाले ठ्याक्कै लक्षित गरी थुप्रै सफल आक्रमणहरू गरेको हो। अमेरिकी अफ्रिका कमान्ड अफ्रिकमले भने नाइजेरियाको सोकोटो राज्यमा नाइजेरियाली सुरक्षानिकायसँग समन्वयमा बिहीबार उक्त कारबाही गरिएको जानकारी दिएको छ। नाइजेरियाका विदेशमन्त्री युसुफ मैतामा तुग्गरले बीबीसीसँग कुरा गर्दै यो संयुक्त सैन्य कारबाही भएको पुष्टि गरे। उनले यो कारबाही कुनै विशेष धर्मविरुद्ध नभई आतङ्ककारी समूहलाई लक्षित गरिएको स्पष्ट पारे।
उनका अनुसार लामो समयदेखि योजनाबद्ध गरिएको यो कारबाही नाइजेरियाले उपलब्ध गराएको गुप्तचर सूचनाका आधारमा गरिएको हो। आवश्यक परे थप आक्रमण हुन सक्ने संकेत पनि उनले दिएका छन्। यद्यपि मानवअधिकार संस्था तथा हिंसा अनुगमन गर्ने समूहहरूले नाइजेरियामा इसाइ समुदाय मात्रै लक्षित भएको पुष्टि हुने प्रमाण नभएको बताउँदै आएका छन्। तथ्याङ्कअनुसार आतङ्कवादी गतिविधिमा मुसलमान समुदायका नागरिक पनि ठूलो संख्यामा मारिँदै आएका छन्। नाइजेरियाली सरकारले अन्तर्राष्ट्रिय साझेदारसँग सहकार्य गर्दै आतङ्कवाद र हिंस्रक अतिवादविरुद्ध कारबाही जारी राख्ने जनाएको छ। राष्ट्रपति बोला टिनुबुले देशमा धार्मिक सहिष्णुता कायम रहेको र सुरक्षा चुनौती सबै समुदायलाई समान रूपमा असर गरिरहेको बताएका छन्।