काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङको आज बिदाई हुने भएको छ । बिदाई समारोह आज प्रहरी मुख्यालय, नक्सालमा विशेष कार्यक्रमसहित हुने भएको छ। आज मध्यरातदेखि कार्यकाल सकिन लागेका खापुङलाई एक आयोजित कार्यक्रममार्फत सम्मानपूर्वक बिदा गरिनेछ।
प्रहरीको कमाण्ड सम्हाल्दै कार्की
आईजीपी खापुङको बिदाई पछि दानबहादुर कार्कीले प्रहरीको कमाण्ड सम्हाल्नेछन् । काठमाडौं उपत्यका कार्यालय, रानीपोखरीमा कार्यरत एआईजी कार्की प्रहरीको ३३औँ महानिरीक्षक (आईजीपी) पदमा नियुक्त भईसकेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई महानिरीक्षक पदमा नियुक्त गरेको हो ।
प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण वर्तमान आईजीपी खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन् । त्यसअघि नै सरकारले नयाँ महानिरीक्षक नियुक्त गरेको हो । कार्कीले प्रहरी नियमावलीमा उल्लेख भएअनुसार अबको २९ महिना नेतृत्व सम्हाल्नेछन् । उनी अब २०८४ चैत १८ सम्म आईजीपी रहनेछन्।