काठमाडौं । नेपाल प्रहरीको ३३ औँ महानिरीक्षकमा एआईजी दानबहादुर कार्की नियुक्त भएका छन् । उनी काठमाडौं उपत्यका कार्यालय, रानीपोखरीमा कार्यरत छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई महानिरीक्षक नियुक्त गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन् । त्यसअघि नै आज सरकारले नयाँ महानिरीक्षक नियुक्त गरेको हो ।
को हुन् नवनियुक्त प्रहरी महानिरीक्षक कार्की ?
नेपाल प्रहरी केवल कानून कार्यान्वयन गर्ने संस्था मात्र होइन, राष्ट्रको शान्ति, सुरक्षा र जनविश्वासको मेरुदण्ड हो। यही संस्थालाई इमान, निष्ठा र दक्षताका साथ तीन दशक नजिक पु¥याउँदै आएका एआईजी कार्की हाल काठमाडौँ उपत्यका प्रहरी कार्यालयका कमाण्डरका रूपमा कुशलतापूर्वक कार्यरत छन् ।
प्रहरी संगठनमा २८ वर्ष लामो सेवायात्रा पूरा गर्न नजिक पुगेका कार्कीले आफ्नो कार्यकुशलता, व्यावसायिकता र बौद्धिक नेतृत्वका माध्यमबाट संगठनभित्र विशेष पहिचान बनाउन सफल भएका छन्। कार्कीको बाल्यकाल गुल्मीको मालिका गाउँपालिका–७ मा बित्यो। सादगी, अनुशासन र जिम्मेवारी उनको जीवनका अभिन्न अंश हुन् । सानै उमेरदेखि परिवार र समाजप्रतिको कर्तव्यबोधले उनलाई अनुशासन र आत्मनिर्भरताको बाटोमा अग्रसर बनायो।
शैक्षिक रूपमा पनि उनी सदैव अग्रस्थानमा रहे। गुल्मीको खन्जडमा प्रारम्भिक शिक्षा लिएपछि उनी ललितपुरमा होस्टेलमा बसेर माध्यमिक तहसम्म अध्ययन गरे। त्यसपछि ल क्याम्पस र आरआर क्याम्पसबाट स्नातक अध्ययन पूरा गरे। उनको विद्यालय जीवन वक्तृत्व, खेलकुद र सांस्कृतिक गतिविधिमा अत्यन्त सक्रिय रह्यो, जसले उनको नेतृत्व र आत्मविश्वासको आधार निर्माण ग¥यो।
कार्की सानैदेखि “सरकारी सेवामार्फत देशको सेवा गर्ने” सोचले अघि बढेका थिए। प्रारम्भमा कूटनीतिक सेवाको तयारी गरिरहेका उनी, प्रहरीतर्फ दरखास्त खुलेपछि साथीहरूको सुझावमा आवेदन दिए — र लोकसेवा आयोगमार्फत २०५४ चैत १८ मा प्रहरी निरीक्षक पदमा नियुक्त भए।
त्यो समय देश द्वन्द्वग्रस्त थियो, जसले प्रहरी सेवाको जिम्मेवारी झनै संवेदनशील बनाएको थियो। सुरुवाती तलब ४ हजार रुपैयाँ मात्र भए पनि, देशप्रेम र सेवाभावले उनले कहिल्यै हार मानेनन्। आज उनी प्रहरी निरीक्षकदेखि एआईजीसम्मको प्रेरणादायी यात्रा पूरा गर्दै प्रहरी नेतृत्वको कमाण्ड समाल्न पुगेका छन् ।