काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शन र त्यसपछिका घटनाक्रमबाट देशले अकल्पनीय क्षति बेहोर्नुपरेको बताएका छन् ।
शुक्रबार ७०औँ प्रहरी दिवस, २०८२ को अवसरमा आयोजित सहिद प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा उनले ‘आजका दिनसम्म प्रहरी नागरिकको स्नेह, आक्रोश समानान्तर रूपमा प्राप्त र सामना गर्ने राज्यको सशक्त प्रतिनिधिको रूपमा स्थापित हुन सफल’ भएको बताए ।
उनले राजनीतिक परिवर्तनको हालको परिस्थितिमा र आगामी दिनहरूमा समेत उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र असहज परिस्थितिको सामना गर्दै आमनागरिकलाई शान्ति सुरक्षा र अमन चयनको प्रत्याभूति दिलाइ नागरिक भरोसाको केन्द्रको रूपमा रहेको नेपाल प्रहरी व्यावसायिकरूपमा सक्षम तथा प्रतिबद्ध रहेको बताए ।
नेपाल प्रहरीबिनाको समाज परिकल्पना गर्न नसकिने उनको भनाइ छ । उनले विभिन्न ९३९ स्थानमा नयाँ प्रहरी इकाइको माग र ४०० भन्दा बढी इकाइमा प्रहरी कार्यालयको स्तरोन्नतिको माग रहेको बताए । यसको पूर्तिका लागि २५ हजारभन्दा बढी प्रहरी जनशक्ति आवश्यक रहेको बताए ।
‘गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको युवा तथा विद्यार्थीको प्रदर्शन त्यसपश्चात्का घटनाक्रमबाट देशले अकल्पनीय क्षति बेहोर्नुपरेको छ । उक्त प्रदर्शनको क्रममा नेपाल प्रहरीका सदस्य र ज्यान गुमाउनुभएका अन्य दिवंगत आत्माहरूको चिर शान्तिको कामना गर्दछु,’ उनले भने ।
उनले प्रहरीको बोली, वचन र व्यवहार सुधार गर्न पनि जरुरी रहेको पनि बताए । उनले प्रहरीभित्र पनि शुद्धीकरण र सुधारका प्रशस्त आवश्यकता रहेको बताए । नागरिकले तिरेको करबाट खरिद गरिएको पोसाक लगाएर नागरिकमाथि हुने अपशब्द र रवाफ कहिल्यै स्वीकार्य नहुने बताए ।