काठमाडौं, १३ फागुन – नेपालमा पहिलोपटक यही फागुन १९ गतेदेखि २२ गतेसम्म अश्वमेध महायज्ञको आयोजना हुने भएको छ। सांस्कृतिक तथा व्यापारिक महानगर वीरगञ्जको आदर्शनगर रंगशालामा उक्त महायज्ञ हुने भएको छ।
सोमबार अश्वमेध गायत्री महायज्ञ मूल आयोजक समितिले पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो। अखिल विश्व गायत्री परिवारको आयोजना तथा वीरगञ्ज महानगरपालिकाको सहयोग र समन्वय साथै विभिन्न धार्मिक, आध्यात्मिक, सामाजिक संघ–संस्थाहरुको सहभागितामा सनातन विधिविज्ञानसहित २५१ कुण्डीय भव्य यज्ञशाला स्थापना गरी यो महायज्ञ सम्पन्न हुने आयोजकले विश्वास दिलाएको छ।
महायज्ञको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको छ। समापन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको आतिथ्य रहेको छ। आयोजकका अनुसार फागुन १९ गते बिहान ८ बजेदेखि बिहान ११ बजे कलश र विभिन्न झाँकीसहितको कलशयात्रा हुनेछ।
त्यस्तै विश्व गायत्री परिवारका प्रमुखद्वय डा. प्रणव पाण्ड्या र शैलवाला पाण्ड्या सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
मूल आयोजक समितिका अध्यक्ष तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले यो यज्ञ आयोजना गर्नुको मुख्य उद्देश्य राष्ट्रलाई सक्षम र समृद्ध बनाउने रहेको बताए।
‘यो एउटा आध्यात्मिक प्रयोग हो, नेपाल तपोभूमि हो, देवभूमि हो। ऋषिमुनिहरुको भूमि हो। यो कुरा हामीले पढेका छौं। अब यसलाई पुरा विश्वमा चिनाउनका लागि महायज्ञ फलदायी हुनेछ। यो साँच्चै देशको नाम चिनाउने कार्यक्रम हो,’ महतोले भने।