काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकामा सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।सङ्घको नयाँ नेतृत्वका लागि घोषित निर्वाचन कार्यक्रमअनुसार सबै पदमा एकरएक मात्र उम्मेदवारी परेपछि निर्वाचन आयोगले सबै पदाधिकारीलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।
निर्वाचन कार्यक्रमअनुसार आउँदो आइतवार र सोमवार चुनाव गर्ने भनिएको थियो । आयोगका अनुसार अधिकांश पदमा एकल उम्मेदवारी परे पनि केही पदमा एकभन्दा बढी उम्मेदवारी परेको थियो । सङ्घका अगुवाहरुले नयाँ नेतृत्व सर्वसम्मत बनाउन प्रयास गरेपछि सबै पदाधिकारी सदस्यहरु निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार अध्यक्षमा विकास उप्रेती, वरिष्ठ उपाध्यक्षमा प्रेम तामाङ, उपाध्यक्षहरुमा दीपक पाण्डे, दिवाकर सापकोटा, कुमार तामाङ, थलविर ओली, महिला उपाध्यक्षमा शान्ति पौड्याल, युवा उपाध्यक्षमा विष्णुप्रसाद पौडेल चयन भएका हुन्। त्यसैगरी राष्ट्रिय समन्वय परिषद्को महासचिवमा रामचन्द्र पन्त, सचिवमा प्रचण्ड श्रेष्ठ, महिला सचिवमा सङ्गीता लामा लामिछाने, कोषाध्यक्षमा कमल ढुङ्गाना र सहकोषाध्यक्षमा मनोजकुमार ठगुन्ना, महिला संयोजकमा सावित्रा सिवाकोटी, युवा संयोजकमा आशिष सङ्ग्रौला निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।