काठमाडौं, १३ फागुन – एनआईसी एशिया बैंक र नेपाल उद्यमशील महिला महासंघबीच १० लाख रुपैयाँसम्मको कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।
महासंघले उपलब्ध गराएको कागजात, कारोबार, मापदण्डका आधारमा उद्यमीलाई २ लाखदेखि १० लाख रुपैयाँसम्म कर्जा दिने सम्झौता भएको हो।
उद्यमशीलतामा लागेका वा लाग्न चाहने व्यक्तिलाई कर्जा उपलब्ध गराइने बैंकले बताएको छ।
एनआईसी एशिया बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डे र नेपाल उद्यमशील महिला महासंघकी अध्यक्ष देविका अधिकारी बुढाथोकीले हस्ताक्षर गरेका छन्।
एनआईसी एशिया बैंकले साना तथा मझौला व्यवसायमा लगानी विस्तार गर्ने रणनीति अनुसार महासंघसँग साझेदारी गरेको प्रष्ट्याएको छ।
नेपाल उद्यमशील महिला महासंघसँग गरिएको सहकार्यलाई बैंकले ‘उद्यमशील कर्जा’ योजना भनेको छ। सम्झौतासँगै सरकारले केही समयअघि कार्यान्वयनमा ल्याएको सहुलियत कर्जा योजनामा योगदान पुग्ने बैंकको अपेक्षा छ।
महिलाहरुलाई उद्यमशील बनाउनका लागि बैंकले उद्यमशील कर्जा प्रदान गरेको पाण्डेले बताए। यसैगरी, महासंघकी अध्यक्ष बुढाथोकीले नेपाली महिलाहरुलाई सक्षम बनाउने महासंघको योजनामा बैंकले साथ दिएको धारणा राखिन्।
एनआईसी एशियाका दुई सय ७७ वटा शाखा कार्यालय, २ सय ८९ एटीएम, ३९ वटा एक्सटेन्सन काउण्टर र २३ वटा शाखारहित बैंकिङ इकाई रहेका छन्।