काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले आफ्नो कारणले बजेट रोकिन नहुने बताएका छन् ।
आइतबार केही सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, ‘म बजेट आउनुपर्छ भन्नेमा छु । मेयर साब (बालेन शाह) तथा उपमेयर (सुनिता डंगोल) र जनप्रतिनिधिको निर्णयहरूमा बाधक बन्दिनँ भनेर पनि मैले भन्दै आएको छु ।’ तर, बजेटसँग काठमाडौँ टावरको विषयलाई जोड्ने काम भएको भन्दै उनले त्यो जोड्नुपर्ने कारण नै नभएको जिकिर गरे ।
‘कसैले ‘तँ भ्रष्टाचारी हो भनेर भन्ने वितिक्कै ऊ भ्रष्टाचारी हुँदैन ,’ उनले भने । महानगरमा मेयर र प्रमुख प्रशासकीय अधिकृतबिचकै विवादका कारण बजेटमा ढिलाइ भइरहेका बेला गुरागाईंले यस्तो बताएका हुन् ।
उनले काठमाडौँ टावरका सन्दर्भमा निर्णय भैसकेको विषयमा प्रमाणपत्र मात्रै दिएको दोहोर्याउँदै आफूमाथि लगाइएका आरोपको खण्डन विगतमा पनि समाचारहरुबाटै भैसकेको बताए । तर, पटक–पटक आफूमाथि किन प्रहार भैरहेको छ भन्नेबारे बुझ्न नसकेको उनले उल्लेख गरे ।