काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नरमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेलको नाम चर्चामा आएको छ । गभर्नरको नाम सिफारिस गर्न गठित समितिका सदस्यसमेत रहेका पौडेलको नाम कांग्रेसले प्रस्ताव गरेको भनिए पनि यसबारे औपचारिक घोषणा भइसकेको छैन ।
हिजो सत्तारुढ कांग्रेस र एमालेका शीर्ष नेतृत्वसहित बसेको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले गभर्नरमा पौडेलको नाम प्रस्ताव गरेको बुझिएको छ । कामु गभर्नर नीलम ढुङ्गानाले कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा स्वीकृत नगरेपछि कांग्रेसले विकल्प खोजेको हो ।
गएको चैत २४ गते गभर्नरबाट महाप्रसाद अधिकारी सेवानिवृत्त भएको ९ दिनपछि वैशाख ३ गते प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको छलफलमा गुणाकर भट्टलाई नयाँ गभर्नर बनाउने सहमति भएको थियो ।
त्यसपछि वैशाख ५ गते भट्टले नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिनुभयो । तर कायम मुकायम गभर्नर नीलम ढुङ्गानाले राजीनामा स्वीकृत गरेकी छैनन्। ढुङ्गाना स्वयम् गभर्नरको आकांक्षी थिए। पदावधि सकिनु एक महिनाअगावै नयाँ गभर्नर नियुक्ति गर्नुपर्ने कानूनी प्रावधान रहे पनि दलहरुबीचको दाउपेचले ढिलाइ भएको छ ।