इनरुवा, १२ फागुन - नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले दुई तिहाइ सरकारसँग चिडिएको नेपाली कांग्रेस अनर्गल प्रचारबाजीमा उत्रिएर भ्रम पैदा गराउने खेलमा लागेको आरोप लगाएका छन्।
सुनसरीको दक्षिणी क्षेत्र देवानगञ्ज गाउँपालिकामा आइतबार आयोजित बृहत् सभा तथा कार्यकर्ता प्रवेश कार्यक्रममा नेता खनालले जनमतबाट बढारिएको काङ्ग्रेसले सरकारलाई कमजोर देखाउन हरसम्मत प्रयास गरिरहेको बताए। उनले भने,‘काङ्ग्रेस पार्टीभित्रको बढ्दो असन्तुष्टि र गुटका कारण अत्तालिएको छ । त्यसैले काङ्ग्रेस नेकपाको सरकार विरुद्ध दुष्प्रचारमा उत्रिएको छ।’
विभिन्न समयमा मुलुकको बागडोर सम्हाले पनि दीर्घकालिन सोच र दूरदृष्टि अभावका कारण नेपाली काङ्ग्रेसले देश र जनताको सवालमा केही गर्न नसकेको नेता खनालको आरोप थियो। मुलुकको समृद्धि र विकासमा वर्तमान सरकारले कायापलट गरेको उनको दाबी थियो । (रासस)