काठमाडौं, १२ फागुन – देश बन्दहड्तालको दलदलमा फसेको वषौं भइसकेको थियो। रचनात्मक कार्यक्रमभन्दा बन्दहड्तालबाट आफ्ना माग पूरा गराउन उद्दत जमात ठूलै थियो। अझ बनौं, बन्दहड्तालको अराजकता संस्थागत भइसकेको थियो।
तर, विसं २०६६ सालसम्म आइपुग्दा नेपाली समाजमा चेतनास्तर समयसापेक्ष बदलिरहेको थियो। बदलिँदै थियो, बन्दहड्ताल सहेर बस्ने प्रवृति पनि। २०६६ सालमा सामाजिक अभियन्ता उज्वल थापाको नेतृत्व ‘गरिखाने वातावरणका लागि नेपाल बन्दविरुद्ध दबाब अभियान’ सुरु भयो।
स्थान थियो, माइतीघर मण्डला। केही युवाहरुलाई भेला पारेर ‘नेपाल खुल्ला छ’ लेखेको पोस्टर छातीमा टाँसेर थापा काठमाडौंका सडकमा निस्किए। जसको परिणाम देखिन धेरै समय कुर्नु नै परेन। देशैभरि बन्दहड्तालविरुद्ध जनभावना बढ्यो।
अभियानअन्तर्गत बन्दहड्तालका दिन बिहान मोटरसाइकल र्यालीको आयोजनादेखि पसल खोल्न प्रेरित गर्नेसम्मका कार्य गरेका थापाले विसं २०७१ साल जेठमा १६ जनाको टिम बनाएर विवेकशील नेपाली दल गठन गरे।
सामाजिक अभियन्ता उज्वल थापा नेतृत्वको विवेकशील नेपाली दल र ख्यातीप्राप्त पत्रकार रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीबीच २०७४ साउन महिनामा एकता भयो। र, बन्यो विवेकशील साझा पार्टी। तर, १६ महिनापछि गत पुस २७ गते एक संयोजक उज्वल थापाले विवेकशील साझा पार्टीबाट अलग्गिएर विवेकशील नेपाली दललाई ब्यूत्याए।
केही असन्तुष्टि र नामको एक अंश अथात् ‘विवेकशील’ छोडेर विवेकशील नेपाली दल गठन गरेका थापा संगठन सुदृढीकरणको अभियानमा लागेका छन्। थापा भन्छन्, ‘विवेक र सुसंस्कारको राजनीति गर्न हामीले पार्टी स्थापना गरेका हौं, एकदिन देश बदलेरै छाड्छौं।’
६ महिनामा देशैभरि अभियान: प्रवक्ता पाण्डे
पार्टी पुनर्गठनको एकसाता नबित्दै विवेकशील नेपाली दलका शीर्ष नेताहरु देश दौडाहामा निस्किए। दलका प्रवक्ता मिलन पाण्डेका अनुसार इलामदेखि सुदूरपश्चिमसम्म पुगेर पाँच सयभन्दा धेरै नेता–कार्यकर्तासँग अन्तरक्रिया गरिएको छ।
पाण्डेले संगठन विस्तार गर्नका लागि देशभरका नेता–कार्यकर्ताहरुसँग छलफल भइरहेको बताएका छन्। ‘हामीले विवेकशील नेपाली दल गठनलगतै इलामदेखि सुदूरपश्चिमसम्म पुगेर पाँच सयभन्दा धेरै नेता–कार्यकर्तासँग भेट गरेका छौं, अन्तरक्रिया गरेका छौं, त्यसक्रममा पार्टी फुटका विषयमा मिश्रित प्रतिक्रिया आयो,’ प्रवक्ता पाण्डेले नेपाली पब्लिकसँग भने, ‘तर, अब गम्भीर र जिम्मेवार भएर अघि बढ्न सबैको सुझाव पायौं।’
पाण्डेले पार्टी संरचना चाँडै नै बृहत बनाएर लैजाने तयारी भइरहेको बताए। उनका अनुसार नीति तथा राष्ट्रिय अधिवेशनको तयारी आन्तरिक रुपमा सुरु भइसकेको छ।
‘दल दर्ताका लागि १६ बाट २१ जनाको केन्द्रीय कार्यसमिति बनाएका छौं, एक सातामा दल दर्ता हुने अपेक्षा छ, अब अरु २१ जना केन्द्रीय सदस्य थपेर अायोजक समिति निर्माण गर्ने छाैं, र त्यसको एक सय दिनपछि नीति तथा राष्ट्रिय अधिवेशन गरिने छ,’ पाण्डेले भने, ‘६ महिनामा देशैभरि अभियान पुर्याउने छौं।’
निरन्तर खबरदारी
बन्दविरुद्धको नेपाल खुल्ला छ अभियान, भ्रष्टाचार विरोधी अभियान तथा पुनर्निर्माणमा दबाब तथा अन्य विभिन्न किसिमका सामाजिक आन्दोलनबाट उदाएको विवेकशील नेपाली दलले यस प्रकारका आन्दोलनलाई निरन्तरता दिँदै सरकारलाई जनताप्रति उत्तरदायी बनाउन अझै सशक्त रुपमा प्रस्तुत हुने रणनीति बनाएको छ।
‘स्वास्थ्य, शिक्षा जस्ता महत्वपूर्ण कुरा राज्यले नै दिनुपर्छ भन्ने हाम्रो मान्यता हो, प्राडा गोविन्द केसीले उठाएका मुद्दालाई सम्बोधन गर्न दबाब दिने उद्देश्यले चरणबद्ध रुपमा आन्दोलन गर्नुको तात्पर्य पनि त्यही नै हो,’ पाण्डेले भने, ‘भ्रष्टाचारका मुद्दा तथा सरकारलाई जनताको पक्षमा काम गर्न दबाब दिन हामी सधैं जुट्ने छौं।’
यस्तो छ सांगठानिक संरचना
विवेकशील नेपाली दलको केन्द्रीय कार्यसमिति २१ सदस्यीय रहेको छ। पदाधिकारी चार जना पदाधिकारीसहित समावेशी पद्धतिमा दलले केन्द्रीय कार्यसमिति बनाएको छ।
दलको अध्यक्ष उज्वलबहादुर थापा हुन्। उपाध्यक्ष अजिता राई, महासचिव गोविन्द नारायण तिमिल्सिना र कोषाध्यक्षको जिम्मेवारी सुवुना बस्नेतले पाएकी छन्।
त्यसैगरी, केन्द्रीय सदस्यहरुमा अनुसा थापा, रमेश पौड्याल, विराजभक्त श्रेष्ठ, रञ्जु न्यौपाने (दर्शना), साधना राई, शशीविक्रम कार्की, ज्ञानेन्द्र निरौला, मिलन पाण्डे, जीवन श्रेष्ठ, पुकार बम, अर्जुनसिंह ठकुरी, आशुतोष तिवारी, ज्योति परियार, रामजी राम, प्रतिभा डंगोल, रजिया वानु र जमुना सुवेदी रहेका छन्।
पाँच प्रदेशमा संगठन विस्तार
विवेकशील नेपाली दलले प्रदेश नम्बर–१ को पार्टी कार्यालय उर्लाबारीमा स्थापना गरेको छ। र, प्रदेश नम्बर–१ को अध्यक्षमा सन्तोष घिमिरे, उपाध्यक्षमा निकु बस्नेत, सचिवमा सुवास सुवेदी र कोषाध्यक्ष इन्द्रकमल अधिकारी रहेको प्रदेश कमिटी निर्माण गरिसकेको छ।
प्रदेश नम्बर–२ मा सप्तरीमा पार्टी कार्यालय रहने गरी माधव कुमारको अध्यक्षतामा कमिटी निर्माण गरेको छ। धीरज पुडासैनी उपाध्यक्ष, उपमा राउत सचिव र राम सोगारथ शर्माले कोषाध्यक्षको जिम्मेवारी पाइसकेका छन्।
प्रदेश ३ को अध्यक्षमा कर्मा लामा, अनुमा कोइराला उपाध्यक्ष, राम रेग्मी कोषाध्यक्ष र विमल तामाङ सचिव चयन भएका छन्। प्रदेश कार्यालय काठमाडौंमै रहने छ।
गण्डकी प्रदेशको पार्टी कार्यालय पोखरामा रहने छ। सुमित्रा गुरुङ अध्यक्ष, तिर्सना भण्डारी उपाध्यक्ष, शिशिर बञ्जारा, कोषाध्यक्ष, रोहित क्षेत्री सचिव रहेका प्रदेश कमिटी गठन गरिएको प्रवक्ता पाण्डेले बताए।
प्रदेश ५ को अध्यक्षमा शिवप्रसाद थापा, उपाध्यक्षमा विनोद लामिछाने, कोषाध्यक्षमा माया बुढाथोकी र सचिव विष्णुराज रेग्मी रहेको कार्यसमिति चयन गरिएको छ। पार्टीको प्रदेश कार्यालय दाङमा रहने छ।