काठमाडौं, १२ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधि र यान्त्रिकीकरणको प्रयोग गरेर कृषिमानिर्भर जनसंख्यालाई घटाउनु पर्ने बताएका छन्। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आइतबार आयोजना गरेको वर्तमान अवस्था र भावी सोच विषयक गोष्ठीलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन्।
प्रधानमन्त्री ओलीले देशको दुई तिहाइ जनसंख्या कृषिमा भएपनि त्यस अनुसारको प्रतिफल प्राप्त हुन नसकेको बताए। ‘हाम्रो देशको लागि यति ठूलो जनसंख्या कृषिमा निर्भर हुनु राम्रो होइन। कृषिमा प्रविधि र यान्त्रीकरणको प्रयोग गरेर जनसंख्याको ठूलो हिस्सालाई अन्यत्रै उपयोग गर्नुपर्दछ,’ ओलीले भने, ‘जबरजस्त रुपमा कृषिमा काम गरेका मानिसलाई विस्थापन गर्ने भनेको होइन, तर विकल्प दिएर अन्य काममा यो जनशक्ति उपयोग गर्नुपर्दछ।’
ओलीले कृषिमा मात्रात्मक होइन गुणात्मक परिवर्तन हुनुपर्ने बताए। ‘एकै ठाउँमा ठूलो मात्रामा एकै प्रकारकोे बाली लगाउनु पर्दछ जसले गर्दा निर्यात गर्न सजिलो हुन्छ,’ ओलीले भने, ‘हाम्रो परम्परागत खेती प्रणालीमा सुधार गरेर चक्ला खेती प्रणालीको विकास गर्नुपर्दछ। यसका लागि कृषि मन्त्रालयको नेतृत्वमा भूमि व्यवस्था मन्त्रालय र सहकारीहरुलाई साथ लिएर अघि बढ्नु पर्दछ।’
नेपालीहरुको खाद्यआदत परिवर्तन हुँदै गएकाले बाली प्रणाली पनि त्यसै अनुसार सुधार गर्नुपर्ने ओलीको भनाइ छ। ‘पहिला नेपालीहरुमा सागसब्जी कम्तीखाने बानी थियो । अहिले यसमा परिवर्तन आएको छ। त्यस कारण अहिलेको भन्दाचार गुणा बढी सागसब्जीको उत्पादन गर्नु पर्दछ,’ ओलीले भने, ‘बासनादार र विदेशबाट आयात गरिएको चामलभन्दा स्वदेशमै उत्पादन भएको चामलको भात खाने आदतको विकास गर्नु पर्दछ।’