सुडान, १२ फागुन – सुडानको सुरक्षा निकायले यहाँको प्रसिद्ध पत्रिकाका सम्पादकलाई राष्ट्रपति अमेमार अल–बासिरद्वारा देशमा सङ्कटकालको घोषणा गर्दै सरकारको विघटन गर्नु सही कदम नभएको प्रतिक्रिया टेलिभिजनमार्फत दिएको आरोपमा पक्राउ गरिएको उनको पारिवारिक स्रोतले शनिबार जानकारी गराएको छ ।
अल–तायर दैनिकका प्रधान सम्पादक ओस्मान मिर्घानीलाई सुरक्षाकर्मीले शुक्रबार राति उनको कार्यालयबाट पक्राउ गरेको उनका भाई अली मिर्घानीले बताए। सम्पादक मिर्घानीले बसिरको तीन दशक पूरानो शासनविरूद्ध केही हप्तादेखि भइरहेको आन्दोलनलाई दबाउन सङ्कटकालको घोषणा गर्ने पछिल्लो कदम गलत भएको बताएलगत्तै सुरक्षाकर्मीले उनकै कार्यालयबाट गिरफ्तार गरेको थिए।
यसबारे प्रतिक्रियाका लागि प्रहरी तथा अन्य सुरक्षा अधिकारीले उपलब्ध हुन चाहेनन्। स्काई न्युज अरेवियाले मिर्घानीसँग शुक्रबार लिएको अन्तवार्तामा के बसिरको नयाँ कदमले आन्दोलित जनताको आक्रोशलाई साम्य गर्नेछ भनी गरिएको प्रश्नमा उनले राष्ट्रपतिको पछिल्लो कदमले झन् आन्दोलनको नयाँ तरङ्ग ल्याउने र ‘यसले जनतालाई सरकार हटाउन थप दवाव दिनुपर्ने सन्देश दिने’ बताएका थिए।
अमेरिकाबाट इन्जिनियरिङ गरेका मिर्घानीले स्वदेश फर्केर पत्रकारिता शुरू गरेका थिए। उनलाई सुरक्षाकर्मीले समाचार छापेकै कारण पटकपटक नियन्त्रणमा लिई छोडेका थिए। रिपोर्टर्स विदाउट बोडर्स नामक सञ्चारमाध्यम नियमक संस्थाले बताए अनुसार आन्दोलन शुरू भएको दिन गत डिसेम्बर यता कम्तिमा ७९ पत्रकारलाई पक्राउ गरेको थियो। सुडान विश्वको प्रेस स्वतन्त्रता सुचिमा १८० मुलकमध्ये १७४ औँ स्थानमा पर्छ।
आन्दोलनलाई नियन्त्रणमा राख्न राष्ट्रिय सङ्कटकाल घोषणा गरिएको छ। आन्दोलनका क्रममा अहिलेसम्म ३१ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ भने मानव अधिकारवादी संघसंगठनको तथ्याङ्क अनुसार आन्दोलनका क्रममा अहिलेसम्म ५१ जनाको मृत्यु भएको छ।
सुडानको सरकारले पाउरोटी, पेट्रोलियम पदार्थ लगायतका सामानमा अत्यधिक मूल्य वृद्धि भएपछि यसको विरोधमा आन्दोलन शुरू भएको थियो। सन् १९८९ मा इश्लामिक समूहको सहयोगमा राज्य विद्रोह गरी सत्तामा पुगेका ७५ बर्षीय राष्ट्रपति बसिर पछिल्लो आन्दोलनका कारण निकै कमजोर बनेका बताउने गरिएको छ। एजेन्सी