काठमाडौँ, १२ फागुन - एनसेल मुख्यालयमा बम विष्फोट गराएको आशंकामा नेपाल कम्युनिष्ट पार्टी (विप्लव) माओवादीका १८ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
अनुसन्धानमा खटिएको प्रहरी टोलीले घटनामा संलग्न भएको आशंकामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका १८ कार्यकर्तालाई राजधानीका विभिन्न स्थानहरुबाट पक्राउ गरेको हो।
त्यस्तै शंकास्पल भूमिका खेलेको भन्दै एनसेल मुख्यालयका सुरक्षा गार्डमाथि पनि छानविन शुरु गरिएको प्रहरीले जनाएको छ। विप्लव माओवादीका १८ सहित अन्यगरी २८ जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ।
गत शुक्रबार राती ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालयलाई लक्षित गरेर शुरु भएको विष्फोटको घटनापछि भैरहवा, रौतहट, कास्की, अछाम, काभ्रे, बाग्लुङ र पूर्वी नवलपरासीमा रहेका केही एनसेल टावरमा पनि आगजनी भएको थियो।