काठमाडौँ, १२ फागुन – कमल थापा नेतृत्वको राप्रपाका १४ केन्द्रीय नेताले शनिबार पार्टी परित्याग गरेका छन्। राप्रपा संगठन सुदृढीकरणका लागि राष्ट्रिय स्वाभिमान यात्राको तयारीमा जुटिरहेका बेला पूर्वमहामन्त्री जयन्त चन्दसहितका नेताले पार्टी छाडेको घोषणा गरेका हुन्। चन्द राप्रपाकै वरिष्ठ नेता पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा हुन्।
पार्टी छाड्ने अन्यमा सहायक महामन्त्री भरत पाठक, कार्यसम्पादन समितिका सदस्यहरू प्रह्लाद साह, भरत गिरी र दिनेश श्रेष्ठ, पूर्वसहायक महामन्त्री गोविन्द खनियाँ, केन्द्रीय सदस्यहरू सानुकाजी हेक्का, चिरागमानसिंह कुँवर, रीता पोखरेल, सुन्दर खडका, गणेशबहादुर विष्ट, गजेन्द्रबहादुर सिंह, बिन्दा गिरी, भरतबहादुर चन्द, गोपाल दाहाल, गणेश चन्द, मुकुन्द कार्की र पूर्ण चौलागाईं छन्। पार्टी छोडेका उनीहरू राप्रपा (संयुक्त) मा प्रवेश गर्ने बताइएको छ।