काठमाडौं, १० फागुन – प्रधानमन्त्री केपी शर्मा ओली र बेलायती रक्षा सहायक मन्त्री मार्क ल्यानकास्टरबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको भेटवार्तामा ब्रिटिस गोर्खाहरुको विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिएका छन्।
‘ब्रिटिस गोर्खाहरुको विषयमा उहाँहरुले टेक्निकल कमिटी बनाएर रिर्पोट तयार गर्नुभएको छ, त्यसको बारेमा उहाँहरुले प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको छ,’ भट्टराईले भने, ‘टेक्नीकल कमिटीले कसरी काम गर्यो। अहिले नयाँ प्याकेजहरु तयार गर्दैछौं। ती प्याकेजहरु सकारात्मक हिसाबले तयार गर्दैछौं। यसमा नेपाल पनि सकारात्मक हुनेछ भन्ने विश्वास लिएका छौं भन्ने उहाँहरुको भनाइ थियो।’
ओलीले नेपालमा आगामी महिना हुन लागेको लगानी सम्मेलनबारे पनि ल्यान्कास्टरलाई जानकारी गराए। उनीहरु बीच ब्रिटेनबाट कसरी बढीभन्दा बढी लगानी नेपालमा भित्र्याउन सकिन्छ भन्ने विषयमा छलफल भएको डा. भट्टराईले जानकारी दिए।
प्रधानमन्त्री ओली र अष्ट्रियाका विदेशमन्त्री केरिन क्नाइसलबीच पनि शिष्टाचार भेटघाट भएको छ। प्रधानमन्त्री निवासमा भएको भेटमा विद्युत र केवलकारका विषयमा कुराकानी भएको डा. भट्टराईले बताए।
‘अष्ट्रियाको भूगोल र नेपालको भूगोलउस्तै भएकाले त्यहाँ प्रयोग गरिएको प्रविधि हामीकहाँ पनि उपयुक्त हुन्छ,’ भट्टराईले भने, ‘खासगरी विद्युत र केवुलकार निर्माणका बिषयमा उहाँहरुबीच छलफल भएको छ।’