काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले निर्वाचन आयोगले तोकेको जरिवानाविरुद्ध सर्वोच्च अदालतमा निवेदन पेस गरेका छन्।
मङ्गलबार प्रमुख साहले सर्वोच्चको संवैधानिक इजलासमा निवेदन पेस गरेका हुन्।
वैशाख ३० गते सम्पन्न चुनाव खर्च ढिलो गरी बुझाएको भन्दै निर्वाचन आयोगले प्रमुख साहलगायतलाई जरिवाना तोकेको थियो।
आयोगले प्रमुख साहलाई सात लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो। त्यस्तै, सात लाख ५० हजार रुपैयाँ चुनाव खर्च गर्न पाउने भए पनि आफूले तीन लाख ९४ हजार ४८९ रुपियाँ मात्रै खर्च भएको विवरण साहले आयोगमा बुझाएको बताएका छन्।
आयोगले बालेनसहित १ लाख २३ हजार ६२४ जना उम्मेदवारलाई जरिवाना गर्नुका साथै र त्यस्तो जरिवाना रकम नबुझाउने व्यक्तिलाई छ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने गरी रोक लगाउने निर्णय गरेको थियो।