काठमाडौँ । राष्ट्रिय भूमि आयोगले कुनै पनि स्थानका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूका बस्ती हटाउने कार्य नगर्न सम्बन्धित निकायलाई सूचित गरेको छ। उनीहरू असुरक्षित हुनेगरी कुनै कार्य नगर्न तथा नगराउन पनि आयोगले सचेत गराएको छ ।
शुक्रबार एक सूचनामार्फत आयोगले निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू नहुने सूचना जारी गरेपश्चात भूमिहीनको लगत संकलन,प्रमाणीकरण, निस्सा वितरण, जग्गा नापजाँच र लालपुर्जा वितरण सम्बन्धी सम्पूर्ण कार्यहरू तत्काल संचालन गर्ने जनाएको छ ।
आवश्यक तयारी, लगत संकलन र प्रमाणीकरणको कार्य सम्पन्न नभएसम्मका लागि काठमाडौं महानगरपालिकासहित सम्पूर्ण स्थानीय तह र सबै सरकारी तथा गैरसरकारी निकायहरूलाई भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूका बस्ती हटाउने र उनीहरू असुरक्षित हुनेगरी कुनै पनि कार्य नगर्न नगराउन सूचनामा भनिएको छ ।